युवालाई रोजगारीको अवसर खोजी गर्दैछौँः मुख्यमन्त्री लामा
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवालाई विदेश जानबाट रोक्न प्रदेश सरकारले गुणस्तरीय शिक्षासहितरोजगारका अवसर खोजी गर्न थालेको बताएका छन् ।नुवाकोट उद्योग वाणिज्य संघको बट्टारमा आयोजित १९ औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री लामाले गुणस्तरीय शिक्षाले रोजगारी दिने भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम थालिएको उल्लेख गरे । उनले विदेश जाने युवालाई रोक्न सरकारले सीप विकाससम्बन्धी योजना बनाइरहेको, रोजगारका अवसर खोजी गरिरहेको र विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको दाबी गरे । केही नीति तथा कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उनको भनाई छ ।
‘उच्च शिक्षा अध्ययन र रोजगारको खोजीमा नेपाली युवाको विदेश जानुपर्ने बाध्यताप्रति सरकार गम्भीर भएर सरोकार भएकासँग छलफल र सहकार्यमार्फत् समस्या समाधान गर्न पहल गरिरहेका छौँ’, मुख्यमन्त्री लामाले भने, ‘लहैलहै र देखावटीमा जानेलाई पनि स्वदेशमा बस्नुपर्छ भनेर सजग गराउन चेतना अभिवृद्धि गर्ने काम गरिरहेका छौँ ।’ वैदेशिक रोजगार र उच्चशिक्षाको बहानामा युवा विदेश जाने क्रमले गाउँका घरहरु रित्तिएको भन्दै यस समस्यालाई प्रदेश सरकारले गम्भीररुपमा लिएर समाधान खोजिरहेको मुख्यमन्त्री लामाले उल्लेख गरे ।
युवालाई उद्यमी बनाउन र प्राविधिकसहित गुणस्तरीय शिक्षा उपलब्ध गराई रोजगारको सुनिश्चित गराउन तीन तहका सरकारले साझा धारणा बनाएर समस्याको पहिचान गरिरहेको भन्दै यसमा प्रदेशसरकारले पनि पहल गरिरहेको मुख्यमन्त्री लामाले बताए । सरकारले उद्योग कलकारखाना स्थापनाका लागि सरल नीति अवलम्बन गर्ने, व्यवसायीमैत्री कानुन कार्यान्वयन गर्ने, विद्युत् आपूर्ति, राजस्वमा सहुलियतलगायत क्षेत्रमा सुधारगरेकाले नयाँ उद्योग स्थापना गर्न उद्योगी, व्यवसायीलाई उनले आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, महासचिव उपेन्द्र बुढाथोकीले कार्यसम्पादन प्रतिवेदन र कोषाध्यक्ष मेघनाथ घिमिरेले आर्थिक प्रतिवेदन पेस गरे । सो अवसरमा जिल्लामा उद्योग सञ्चालन र रोजगार सिर्जनामा योगदान पु¥याउँदै आएका उद्योगी तथा व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका उद्यमी तथा किसानले उत्पादन गरेका कृषिउपज, हस्तकला एवम् घरेलु उद्योगका सामग्रीको बिक्री तथा प्रदर्शनी गरिएको थियो ।