‘विश्वभर सफल निर्माण व्यवसायी नेपालमा कसरी असफल’

साझाकुरा
२०८१ फाल्गुन १९, सोमबार ११:४०

हेटौंडा- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विश्वभर सफल भएका निर्माण व्यवसायीहरु नेपालमा असफल हुने गरेको बताएका छन् । फागुन ६ गतेदेखि हेटौंडामा भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को समापन समारोहमा बोल्दै अध्यक्ष सिंहले नेपालको ऐन, कानुनहरु पूर्वाधार र विकासमैत्री नहुँदा निर्माण व्यवसायी असफल हुने गरेको जिकिर गरे । निर्माण उद्योगीले किन समयमै काम गर्न सक्दैन ? भन्ने विषय अहिले कौतुहलताको विषय बनेको उनको भनाई छ । सरकारको ऐन, कानुनहरु नै कार्यबाधक बनेको उनको बुझाई छ । कानुनहरु जबसम्म निर्माण व्यवसायीमैत्री हुँदैन तबसम्म मुलुकमा विकास निर्माणको काम गर्न नसकिने उनको भनाई छ ।

केही समयअघि प्रधानमन्त्रीको चीन भ्रमणमा आफू पनि जाँदा नेपालमा रहेका चिनियाँ निर्माण कम्पनीले समयमै काम गर्न नसकेको विषय उठाउँदा नेपालको कानुनकै कारण काम गर्न नसकेकोे गुनासो चीनबाटै आएको उनले बताए । नेपालमा भएका ऐन, कानुनहरु कार्यान्वयन योग्य नै नभएको उनले उल्लेख गरे । अध्यक्ष सिंहले राजनीतिक नेतृत्वले स्रोतको सुनिश्चितताबिना नै निर्वाचनक्षेत्र लक्षितयोजना ल्याउँदा काममा ढिलाई सुस्ती भएको बताए । जनतालाई भ्रम छर्न दलहरुले जथाभावी योजना ल्याउने परिपाटी अन्त्य हुनुपर्ने उनको भनाई छ ।

समयमा गर्न सक्ने योजनाको श्रोतको सुनिश्चिततागरेर मात्र योजनालाई अगाडि बढाउन अध्यक्ष सिंहले आग्रह गरेका छन् । अध्यक्ष सिंहले निर्माण व्यवसायी अहिले प्रताडित भएको बताएका छन् । उनले निर्माणकार्यको समयमा सिमेन्ट, डण्डी लगायतको सामग्रीमा भएको अस्वाभाविक मूल्यबृद्धिबाट व्यवसायी प्रताडित हुन पुगेको उल्लेख गरे । सामग्रीको कृत्रिमअभाव सिर्जना गरेर मूल्यबृद्धि गरिएको उनको आरोप छ । मूल्यबृद्धि नियन्त्रण गर्न राज्यसंयन्त्रले पनि भूमिका नखेलेको पनि संघले ठहर गरेको उनको भनाई छ ।

अध्यक्ष सिंहले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव सफल भएको बताएका छन् । लुकेर बसेका प्रतिभालाई पनि महोत्सवले राम्रो अवसर प्रदान गरेको उनको बुझाई छ । निर्माण व्यवसायी सामाजिक उत्तरदायित्व बहन गर्न पनि सक्षम छ भन्ने कुरा महोत्सवबाट पुष्टि भएको अध्यक्ष सिंहले बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतले महोत्सवबाट आर्थिक गतिविधि गतिशील हुन पुगेको धारणा राखेका थिए ।

महोत्सवको १ लाख दर्शकले अवलोकन गरेको र ६ करोड बराबरको आर्थिक कारोबार भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । समापन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्याल, हेटौंडाउपमहानगरका प्रवक्ता तथा वडाअध्यक्ष सविन न्यौपाने, ११ नं. वडाअध्यक्ष जुना दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)