सीमान्तकृत र लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बीमा

साझाकुरा
२०८१ चैत्र १३, बिहीबार १०:००

हेटौंडा- बागमती सरकारले प्रदेशमा रहेका सीमान्तकृत र अल्पसंख्यक समुदायका नागरिकको निःशुल्क स्वास्थ्य बीमाको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा साढे ११ करोड रुपैयाँभन्दा बढी खर्च गरेर प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने सीमान्तकृत र अल्पसंख्यक समुदायका मानिसको बीमा प्रक्रिया अगाडि बढाएको जनाएको छ । स्वास्थ्य बीमा नभएका कारण औषधिउपचार गर्दा महँगो रकम तिर्नुपर्ने, पैसा अभावकै कारण उपचार पाउन समस्या हुने भएकाले प्रदेश सरकारले प्रदेशमा रहेका लक्षित वर्गलाई तोकेर बीमा गरिदिने भएको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी निःशुल्क स्वास्थ्य बीमाको काम अगाडि बढाएको छ ।

मन्त्रालयले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपा·ता ‘ख’ वर्गका व्यक्तिको स्वास्थ्य बीमा गर्न स्वास्थ्य बीमा बोर्डलाई आठ करोड १३ लाख रुपैयाँ पेस्कीसमेत प्रदान गरिसकेको छ । प्रदेशमा रहेका लक्षित वर्गको निःशुल्क स्वास्थ्य बीमाका लागि चालू आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश सरकारले ११ करोड ५७ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयका अनुसार लक्षित वर्गमा सीमान्तकृत र लोपोन्मुख जातिमा कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायू,राजी, किसान, साप्चे, मेचे, कुसवाडिया छन् । अति सीमान्तकृत समूहअन्तर्गत चेपाङ, माझी, सियार, ल्होम, सिड्साबा, बुदान, धानुक, सतार, संताल, झांगड, थामी, बोटे, सुनुवार र बरामु जाति छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश कार्यालय भक्तपुरसँग बीमाका लागि पुस दोस्रो साता सम्झौतामा हस्ताक्षर गरेको हो । २०८१ साउन १ गतेदेखि ०८२ असार मसान्तसम्म लागू हुने गरी स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलाल र स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश संयोजक मनोज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् सम्झौताअनुसार लक्षित समुदायको पहिचान गरी बोर्डका सहजकर्ताले निःशुल्क बीमा गरिदिनेछन् । स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न नेपाल सरकार र स्वास्थ्य बीमा बोर्डले तयार गरेको स्वास्थ्य बीमा नियमावली, २०७५ बमोजिम स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता गराइने उल्लेख छ । बीमा नियमावली, २०७५ अनुसार पाँचजनासम्म सदस्य भएको प्रतिपरिवार तीन हजार पाँच सय र पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँ थप गरी स्वास्थ्य बीमा गरिने उल्लेख छ ।

गत आर्थिक वर्षमा पनि प्रदेश सरकारले प्रदेशभित्र बसोबास गर्ने लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बीमा गरेको थियो । मन्त्रालयले गतवर्ष बीमाका लागि पाँच करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो । गतवर्ष बीमा कार्यक्रममा सबैलाई समेट्न नसके पनि यसवर्ष कोही नछुट्ने अपेक्षा गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गेललाले बताए । यसवर्ष बजेट पनि बढेको र बीमा गर्ने लक्षित वर्गको संख्या पनि दोब्बरले बढ्ने अनुमान गरिएको डा. गेलालको भनाइ छ । उनका अनुसार गत आवमा प्रदेशका १३ जिल्लाका १७ हजार ८३१ लक्षित परिवारको स्वास्थ्य बीमाबापतको रकम मन्त्रालयले भुक्तानी गरेको थियोे । मन्त्रालयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नेपाल सरकारबाट ५० प्रतिशत र बागमती प्रदेश सरकारबाट बाँकी ५० प्रतिशत बीमा योगदान रकमसमेत भुक्तानी गरिदिने भएको छ । गत आर्थिक वर्षमा प्रदेशले चार जिल्लाका ६३७ परिवारको बीमा गरेको थियो । मकवानपुरका ६११, भक्तपुरका चार, ललितपुरका पाँच र चितवनका १७ परिवारको बीमा गरिएको हो ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)