बैठक चल्न नदिने प्रतिपक्षीको चेतावनी, मंगलबार सर्वदलीय बैठक बस्दै

हेटौंडा- बागमती प्रदेशको मन्त्रीपरिषदको सोमबार बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालनको लागि विधेयक मस्यौदा गर्न स्वीकृति प्रदान गर्ने निर्णयगरेको छ । बैठकले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ लाई पनि स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए । बैठकले प्रदेश कामकाजको भाषा ऐन कार्यान्वयन भएको दिन, गाइजात्राको दिन, चेपाङ समुदायको न्वागी र माझी समुदायको लदीपर्वको सन्दर्भमा २०८२ सालमा थप ४ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।
बैठकले पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयको कार्यालयप्रमुख राजु श्रेष्ठलाई बढीमा ६ महिनाका लागि कायममुकायम जिम्मेवारी दिने निर्णय गरेको छ । बागमती प्रदेशसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ । तर, प्रमुख विपक्षी दलहरुले भने प्रदेशसभाको बैठक चल्न नदिने चेतावनी दिएका छन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पछिल्ला गतिविधिका विषयमा सरकारको स्पष्ट धारणा नआएसम्म बैठक चल्न नसक्ने चेतावनी दिएका छन् ।
उनले सरकारको गतिविधि र मन्त्रीहरुका कामका विषयमा सरकारले चित्तबुझ्दो जवाफ नदिए हाउस चल्न नसक्ने बताएका हुन् । प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका जम्कट्टेलले विगतमा विपक्षी दलहरुसँग गरेका सहमति र प्रदेशका गरिबी निवारण तथा सहकारीमन्त्रीका स्वकीयको आत्महत्याका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । सरकारले मन्त्रीहरुलाई जवाफदेही र जिम्मेवार बनाउन नसक्दा सहकारी ठगीमा संलग्न हुने गरी अडियो रेकर्डहरु सार्वजनिक भएको उनको दाबी छ । सहकारी ठगी केसमा मन्त्रीको स्वकीय जोडिएको अडियो सार्वजनिक भएको विषयमा सरकारले आधिकारिक
धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ । यो विषयमा सरकारले स्पष्ट जवाफ नदिएसम्म संसद् बैठक चल्न नसक्ने नेता जम्कट्टेलले बताए ।
‘सरकारको धारणा अनुसार संसद् सञ्चालनको निर्णय लिन्छौँ,’ उनले भने, ‘सरकार विपक्षीलाई बेवास्ता गर्दै अघि बढिरहेको छ । सरकारले हामीसँग कुनै पनि विषयमा समन्वय गरेको छैन । सरकार जवाफदेही नबन्दासम्म संसद् सञ्चालन हुन असम्भव छ ।’
बैठक चलाउन सहज वातावरण बनाउ“छौं : मुख्यमन्त्री लामा
प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसद् सञ्चालनका लागि खासै समस्या नरहेको उल्लेख गर्दै सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुले पनि सहज वातावरण तयार गर्नुपर्ने बताए । उनले विपक्षी र सरकारबीचका राजनीतिक विषयलाई छलफलका माध्यमबाट समाधान गरेर जान सकिने स्पष्ट पार्दै त्यसका लागि सरकार तयार रहेको जानकारी दिए । ‘सरकारले विगतमा विपक्षीले उठाएका विषय पनि क्रमशः सम्बोधन गर्दै अघि बढेको छ । केही विषय समेट्ने चरणमा छौँ,’ उनले भने, ‘विपक्षीले पनि यो कुरा राम्रैसँग बुझेको छ । त्यसकारण संसद् बैठक सञ्चालनमा कुनैसमस्या हुन्न ।’
सोमबार बोलाइएको सर्वदलीय बैठक मंगलबार बस्ने
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सोमबार अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक आज मंगलबार बिहान बस्ने भएको छ । मंगलबार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठकअघि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफलका लागि भन्दै सोमबार सर्वदलीय बैठक बोलाएका थिए । सोमबार नै प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेलसमेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक मंगलबार लागि सारिएको जनाइएको छ ।
सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषय टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्षबिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशसभाको मंगलबार बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाइ छ । ११० सदस्यीय बागमती प्रदेशसभामा सात दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उप सभामुखसहित), राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी सात, नेमकिपा तीन र हाम्रो नेपाली पार्टी दुई सांसदसहित प्रतिनिधित्व रहेको छ ।