सर्वसम्मत छानिए १७ प्रतिनिधि

साझाकुरा
२०७८ कार्तिक २६, शुक्रबार ०९:२५

हेटौंडा/नेकपा एमालेको राष्ट्रिय महाधिवेशनका लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएका छन् । १ जना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएको एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले जानकारी दिए । मकवानपुरमा एमालेको ९ हजार २ सय ६८ जना संगठित सदस्य छन् । महाधिवेशन प्रतिनिधिका लागि ७३ जनाले उम्मेदवारी दिएका थिए । मकवानपुर क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल,  रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, वीरबहादुर घिसिङ फुर्वा, फुर्वा दोर्जे लामा, जुनेली श्रेष्ठ र सिता विष्ट सर्वसम्मत प्रतिनिधि छानिएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ बाट सुवास चन्द्र ठकुरी, एकालाल श्रेष्ठ, लालबहादुर थापा, हिदम लामा, महेश बर्तोला, बिण्णु प्रसाद ढकाल, वरिना बल र सुमित्रा काफ्ले प्रतिनिधि छनौट भएको एमाले मकवानपुरले जानकारी दिएको छ । दलित कोटामा तीन जनाको उम्मेदवारी परेकोमा नारायण गजमेर सर्वसम्मत चयन भएका छन् । महाधिवेशन प्रतिनिधि छनौट सहमतिबाट हुन नसके २७ कार्तिकमा निर्वाचनमार्फत टुंगो लगाउने कार्यतालिका थियो ।

१७ जना प्रतिनिधिको लागि क्षेत्र नम्बर १ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्बर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेदवारी परेको जनाइएको छ । एमालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*