स्वास्थ्य सुधारमा प्रतिबद्ध भएर जुट्न निर्देशन
हेटौंडा/बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिबद्ध भएर जुट्न निर्देशन दिएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि भएको ब्रिफिङका क्रममा मन्त्री लामाले आफू कुरामा भन्दा काममा विश्वास गर्नेमा जोड दिंदै प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिबद्ध भएर जुट्न निर्देशन दिएका हुन् । स्वास्थ्य मन्त्रालय सधैं आकस्मिक स्वास्थ्य सेवाका लागि तयार रहनु पर्ने भएकाले मन्त्रालय अन्तरगतका सबै इकाई आफैं पनि स्वस्थ हुनुपर्ने उनको भनाइ थियो ।
अस्पतालहरूको पूर्वाधार सुधार, गुणस्तरीय सेवा प्रवाह र सरसफाइमा विशेष ध्यान दिन उनले निर्देशन दिए । कोरोना महामारी विरूद्धका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो । प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार एवं प्रशासनिक सुदृढीकरणका लागि मन्त्रालय टिमसंग समन्वयात्मक ढंगले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले मन्त्रालयको संरचनात्मक अवस्था, प्रवाह गरिरहेका सेवा र आगामी कार्ययोजना लगायतको विषयमा जानकारी दिएका थिए ।