सरकारको निर्णय आपत्तिजनकः पौडेल
हेटौंडा÷बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने वर्तमान सरकारको निर्णयप्रति आपत्तिजनक रहेको दाबी गरेका छन् । सोमबार पौडेलले एक विज्ञप्ती जारी गर्दै वर्तमान सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती र आपत्तिजनक रहेको बताएका हुन् । उनले नवगठित गठबन्धन सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित भएको आरोप समेत लगाएका छन् ।
पौडेलले इन्धन र मोटर पार्टसको खर्च कम गर्न नेकपा एमाले नेतृत्वको सरकारले सो योजना अघि बढाएको भएपनि वर्तमान गठबन्धनको सरकारले त्यसको विरुद्धमा निर्णय गरेर देशलाई विकासको बाटोमा जानबाट रोकेको आरोप लगाए । पौडेलले सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटर पार्टसमा खर्च हुने अरबौं रुपैयाँ बचाउने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्यूनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यसहित प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाएको भन्ने खबरले मर्माहत र आक्रान्त बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान सरकार कमिसनको खेलमा परेर देशमा नै उत्पादन भएको विद्युत खेर फाल्ने र विदेशबाट इन्धन खरिद गरी सवारी सञ्चालन गर्ने उद्देश्य लिएर अघिल्लो सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया रोक्ने निर्णय गरेको उनको पौडेलको भनाइ छ ।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुनेगरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्दा मजाक पनि हो ।’ विज्ञप्तिमार्फत उनले भनेका छन् । ‘यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ ।’