बागमतीमा संसदीय खुलापनलाई अझै फराकिलो बनाउन जोड

साझाकुरा
२०७८ मंसिर २, बिहीबार ०९:३४

हेटौंडा/बागमी प्रदेशसभा सचिवालयमा बुधबार संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्टूसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको बताएका छन् ।

यसअघि संसदमा भएका कमजोरीहरु व्यक्तिको रहेको वताउँदै उनले भने–‘पहिले भएका कमजोरीहरु सुधार गर्दै जाने छौं । यस्ता कमजोरी कसैबाट भएको भए व्यक्तिले गरेका हुन् । सिङ्गो संस्थाले कमजोरी गरेको होइन ।’ बागमती प्रदेशसभामा पक्षपातको कुनै काम नभएको उनले बताए । सबैलाई समान व्यवहारले काम गरिएको उनको भनाइ छ । प्रदेशसभामा हिजोका दिनहरुमा भन्दा धेरै सुधारका कामहरु भइरहेको बताउँदै सभामुख श्रेष्ठले भने–‘केही टेक्नीकल समस्या र भवनका कारण समस्या परेको हुनसक्छ अब यसलाई सच्याउँदै अगाडी बढ्ने छौं ।’

प्रदेशसभाबाट पास भएका ऐनहरु कार्यान्यनमा गएको र केही ऐनहरु आवस्यक्ता अनुसार संशोधन भएको उनले बताए । प्रदेशसभामा बजेट पास गराउने बेलामा भन्दा बाहेक अरु बेलामा दलहरुबिचमा समन्वयबाट नै विधयकहरु पास भएको जानकारी गराए । प्रदेशसभामा संस्थागत संरचना नहुँदा केही समस्या परेपनि नागरिकको पहुँमा भने रहेको बताए । पत्रकारले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै उनले टेक्निकल मेनपाओर नहुँदा समस्या बढेको सभामुख श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभाका निमित्त सचिव बिनोद अमात्यले प्रदेशसभाले हाल सम्म गरेका कानूनका विषयमा जानकारी गराउनु भएको थियो । हाल सम्म प्रदेशसभा बाट ६२ वटा ऐनहरु पारित संसोधन सहित गरेर पारित भएको अमात्यले जानकारी दिए । प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन् ।

कार्यक्रममा भर्चुअल विधि मार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधब पौडेल सहभागि थिए । त्यसैगरी प्रदेशसभाका बिभिन्न समितिका सचिवहरुको सहभागिता रहेको थियो । पत्रकारहरुसंगको अन्तरक्रियामा नागरिक दैनिकका बरिष्ठ संबाददाता इश्वरी सुवेदीले संसदमा खुलापन र हाम्रो अभ्यासका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

बागमती प्रदेशसभामा खुलापनलाई ध्यान नदिएको मकवानपुरका संचारकर्मीहरुले आरोप लगाएका छन् । कार्यक्रममा आफ्ना धारणा राख्दै बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्टले प्रदेशसभामा खुलापनको सबैलाई महसुस हुन दिनुपर्ने बताए । सभामुखको समन्वयकारी भूमिका हुँदा हुँदै पनि खुलापन हुन समस्या भएको वताउँदै उनले भने–‘प्रदेशसभा भित्र मिडियालाई सहज रुपमा रिपोटिङ गर्ने व्यवस्था मिलाउन जरुरी छ । समितिका बैठकमा पत्रकारलाई बोलाउने चलन छैन । यसमा पनि बोलाएर राख्न मेरो सुझाब छ ।’

कार्यक्रममा बागमती प्रदेश पत्रकार महासंघका उपाध्यक्ष रुपेश दुलालले प्रदेशसभामा विगतका तुलनामा अहिले सहज भएको बताए । संसदलाई अहिलेको भन्दा पनि अझै खुलापन बनाउनै पर्नेमा जोड दिए । प्रदेशसभाको सेक्युरेटीका कारण प्रदेशसभामा खुलापन हुन नसकेको उनको टिप्पणी छ । प्रदेशसभामा पत्रकारसंगै आम नागरिकका लागि सहज वनाउन उनको सुझाब छ । आएका विधयकलाई पर्याप्त छलफल गरेर मात्र सभामा लैजानुपर्ने उनले बताए ।

कार्यक्रममा जनपत्र मिडाया प्रालि मकवानपुरका अध्यक्ष हरि हुमागाईले संसदीय खुलापन र पारदर्शितामा असल अभ्यासको सुरुवात गर्नकै लागि कार्यक्रम गरिएको बताए संसदको पुरानो भवनका कारण पनि सबैखालका समस्या भएकाले अब नयाँ भवन निर्माण भएपछि धेरै खालका समस्या पनि समाधान हुने उनको भनाइ थियो । कार्यक्रममा प्रेश युनियन बागमती प्रदेशका संयोजक राममणि दाहाल, नेपाल टेलिभिजन मकवानपुरका संबाददाता दिपेन्द्र रोक्का लगायतले संसदलाई खुलापन दिनुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*