मंसिर तेस्रो सातादेखि जिल्लास्तरीय फुटबल हुने

साझाकुरा
२०७८ मंसिर ७, मंगलवार ११:०६

हेटौंडा/मकवानपुरमा अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जिल्लाका १० वटै पालिकाको टोलीले प्रतियोगितामा सहभागिता जनाउँदै छ । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडी उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नसमेत मद्दत पुग्ने उद्देश्यले जिल्लामै पहिलो पटक अन्तरपालिका फुटबल गर्न खोजिएको हो ।

जिल्ला समन्वय समितिको आइतबार भएको ८४ औं बोर्ड बैठकले जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनामा मंसिर तेस्रो सातादेखि फुटबल गर्ने निर्णय गरेको हो । प्रतियोगिता १८ मंसिरबाट २५ गतेसम्म आयोजना हुने जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । यसअघि नै अन्तरपालिका फुटबल गर्न खोजिएपनि कोरोना महामारीका कारण सम्भव हुन सकेको थिएन् । जिससले गतवर्ष नै प्रतियोगिता गर्न खोजेको

थियो । प्रतियोगिता आयोजनाका लागि करिव ७ लाख ५८ हजार लागत अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने जिसस प्रमुख खुलालले बताए । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट फर्वाड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकलगायतका विद्यागततर्फ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका र बकैया गाउँपालिकाको १० वटा फुटबल टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीले १५ मंसिरभित्र जिल्ला खेलकुद विकास समितिमा स्थानीय तहको सिफारिससहित टिम दर्ता गरिसक्नु पर्नेछ । आफ्ना खेलाडीहरुको सम्पूर्ण व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने जनाइएको छ ।

जिससको ८४ औं बोर्ड बैठकले आगामी नोभेम्बर २५ बाट सुरु हुने महिला हिंसाबिरुद्धको १६ दिने अभियानअन्तर्गत् अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णयपनि गरेको छ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रमको संयोजन जिसस उपप्रमुख भगवती पुडासैनीले गर्ने भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*