रिद्धिसिद्धिको खानी बन्द गर्न प्रजिअलाई पत्र

साझाकुरा
२०७८ मंसिर १०, शुक्रबार १२:२९

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं ४ गिङ्गुस्थित रिद्धिसिद्धि सिमेन्टको खानी क्षेत्रमा भइरहेका गतिविधिहरुले मानवीय क्षतिसमेत हुनसक्ने भन्दै सहज वातावरण नभएसम्म कुनैपनि गतिविधि गर्न नदिन प्रमुख जिल्ला अधिकारी समक्ष माग गरिएको छ ।

राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष पाँच बुँदे ध्यानाकर्षण पत्र लेख्दै स्थानीय स्तरमा शान्तिपूर्ण वातावरण सिर्जना नभएको, स्थानीय युवा र व्यवसायीहरु आपसी झै झगडा र द्वन्द्व सिर्जना गराइएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र पठाएका हुन् ।

उनले समस्याको हल नभएसम्म खानी सम्बन्धि कुनैपनि क्रियाकलाप गर्न नदिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । वडाध्यक्ष कोइरालाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरु बसेर मनहरी–चैनपुर–रतुवा–खैराङ हुँदै कैलाश गाउँपालिकासम्म अस्थायी बाटो निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई आग्रह गर्ने भनिएपनि बाटो निर्माण गरिँदा वातावरणीय प्रभाव मूल्यांकन नभएको स्थान अर्थात सिमेन्ट उद्योगको खानी क्षेत्रमा समेत अघि बढेकाले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गरेका छन् ।

स्थानीय सल्लाघारी सामुदायिक वन क्षेत्रमा पर्ने ४.५ किलोमिटर उक्त सडक निर्माण गर्दा यसअघि पनि सामुदायिक वनका पदाधिकारीहरु वन सम्बन्धि मुद्दा बोक्न बाध्य भएको घटना वडाध्यक्ष कोइरालाले स्मरण गराएका छन् ।

वडाध्यक्ष कोइरालाले कात्तिक २८ गते रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेको मोतीदान कन्ट्रक्सन प्रा.लि.को प्र–०३–०१–००३ नम्बरको एक्साभेटरमा आगजनी गरी ध्वस्त पारिएको र अन्य दुई वटामा क्षति पु¥याइएको घटनाले गाउँका बासिन्दा त्रसित रहेकाले उक्त घटनामा संलग्नहरुलाई तत्कालै पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

खानी सञ्चालन गर्नुअघि स्थानीयबासिन्दा, जन प्रतिनिधि, व्यवसायी, खानी सञ्चालक र सरोकारवालाहरुबीच पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नहुँदा उत्खनन्कर्ता कम्पनीहरु बानियाँ निर्माण सेवा र मोतीदान कन्ट्रक्सन प्रा.लि.ले स्थानीय व्यवसायीहरुलाई पाखा लगाउने, समन्वय नगर्ने र बलजफ्ती प्रहरी र प्रशासन प्रयोग गरी काम लगाउने शैली अपनाएको वडाध्यक्ष कोइरालाले आरोप लगाएका छन् ।

जसका कारण स्थानीय व्यवसायीहरुबीच झडप, कुटपिट, भागदौड र मुद्दामामिला बढी वातावरण असहज भइरहँदा मानवीय क्षति समेत हुन सक्ने अबस्था देखिएकाले तत्कालै स्थानीय बासिन्दाको मागको सम्बोधन र यसअघिको सहमति तथा सम्झौताको कार्यान्वयनका लागि पहल गरिदिन वडाध्यक्ष कोइरालाले माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालासहितको बैठकले मनहरीदेखि खैराङसम्म बाटो बनाउने निर्णय भए अनुसार बाटो बनाउँदा जैविक विविधतामा असर परेको, खोलाको बहावलाई परिवर्तन गरी कुलोजस्तो बनाइँदा जैविक विविधता र वातावरणमा असर परेकाले सोको सुधारका लागि पनि उनले माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*