माओवादीको मकवानपुरका सबै पालिकामा एकैपटक सम्मेलन

साझाकुरा
२०७८ मंसिर ११, शनिबार १०:३६

हेटौंडा÷नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्लास्थित दशै वटै स्थानीय तहमा एकैपटक पालिका सम्मेलन हुने भएको छ । मकवानपुरका १ उपमहा– नगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकाहरुमा एकै पटक सम्मेलन गरिने नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनले जानकारी दिए ।

उनका अनुसार पालिका सम्मेलन १३ मंसिरमा हुनेछ । शुक्रबार हेटौंडामा बसेको नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठकले सम्मेलनका लागि पालिका कमिटीलाई निर्देशन दिइसकिएको प्रचार विभाग प्रमुख पाख्रिनले बताए ।

पार्टीले जारी गरेको अन्तरिम निर्वाचन निर्देशिका अनुसार महानगरमा चारसय, उपमहानगरमा तीनसय, नगरमा दुईसय, गाउँपालिमा एकसय ५० प्रतिनिधि निर्वाचित गराएर सम्मेलन गर्नुपर्ने जनाइएको छ । अब माओवादीको महानगरमा ९९, उपमहानगरमा ८१, नगरपालिकामा ६५ र पालिमा ५५ जनाको कमिटी निर्वाचित हुने निर्देशिकामा उल्लेख छ । तर, मकवानपुरका महानगर नभएकाले पार्टीको महानगर कमिटी भने बन्ने छैन ।

पार्टीको सम्मेलनका लागि पालिका कमिटीहरुले तयारी गरिरहेको जनाइएको छ । माओवादी केन्द्र मकवानपुरकी इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको सभाध्यक्षतामा सम्मेलन तयारी अनुरुप बैठक बसेको थियो । बैठकमा प्रदेश कमिटीका सचिवालय सदस्य विष्णु विष्ट, प्रदेश कमिटी सदस्य भिम पाख्रिन, प्रल्हाद लामिछाने, ललित घलान, बीरबहादुर घलानलगायतको उपस्थिति थियो ।

बैठकले पार्टी केन्द्रले गरेको सर्कुलर अनुसार १३ मंसिरमा जिल्लास्थित दशै वटा स्थानीय तहको सम्मेलन गर्न पालिका स्तरीय पार्टी कमिटीहरुलाई निर्देशन दिएको हो । मकवानपुरका स्थानीय तहहरुमा केही समयअघि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसले पालिकस्तरीय कमिटी निर्माण गरिसकेको छ । पालिकाहरुमा नेकपा (एकीकृत समाजवादी)ले पनि कमिटी निर्माणलाई तीव्रता दिएको छ । अन्य राजनीतिक दलले भने पालिका कमिटी बनाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*