बागमतीका ६७ प्रतिशतले पाए कोरोनाविरुद्धको खोप

साझाकुरा
२०७८ मंसिर १३, सोमबार ०९:०६

हेटौंडा-बागमती प्रदेशका ६७ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप पाएका छन् । हेटौंडास्थित स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको तथ्यांक अनुसार करिब साढे २८ लाख नागरिकले कोरोना भाइरसविरुद्धको विभिन्न प्रकारका खोपको पूरा डोज पाएका हुन् । हालसम्म १८ वर्षमाथिका ६७ प्रतिशत अर्थात २८ लाख ४० हजार ६ सय ८५ नागरिकले कोरोनाविरुद्धको पूरा डोज खोप पाएका छन्।१८ बर्ष माथिका खोप लगाउनुपर्ने १४ प्रतिशतले अझै पनि खोप लगाएका छैनन् । प्रदेशका १३ जिल्लामा १८ बर्ष माथिका ८ लाख २२ हजार ७ सय २ जनाले अझै पनि कोरोनाविरुद्धको कुनै पनि डोज नलगाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले लक्षित बर्गका सबैलाई खोप लगाउन  उत्प्रेरित गरिरहेको र यसका लागि मन्त्रालय अन्तरगतका सबै स्वास्थ्य संस्थालाई परिचालित हुन निर्देशन दिएको स्वास्थ्य मन्त्री निमा लामाले बताए ।बागमती प्रदेशका १३ जिल्लाका नागरिकलाई कोरोना– विरुद्धको भेरोसेल, कोभिसिल्ड र जोनसनको खोप लगाइएको छ । प्रदेशमा पहिलो मात्रा खोप लगाउनेको संख्या १४ प्रतिशत रहेको छ । प्रदेशका ५ लाख ९५ हजार २० जनाले भेरोसेल, कोभिसिल्ड वा फाइजरमध्ये कुनै एक खोप पहिलो डोज खोप लगाएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

खोपको पहुँच बाहिर रहेका १८ बर्ष माथिका नागरिकलाई खोप लगाउने वातावरण निर्माण गर्न सबै जिल्लाका स्वास्थ्य इकाई, जनप्रतिनिधि र नागरिक समाजले समन्वय गर्नुपर्नेमा मन्त्री लामाले जोड दिए । सबैलाई खोप सुनिश्चित गर्न मन्त्रालय तत्पर रहेको भन्दै कुनै कारणबश छुटेकाहरुलाई खोप अभियानमा सहभागी गराउन उनले आग्रहसमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*