मानव सेवा आश्रमलाई सरकारबाट १४ करोड अनुदान

साझाकुरा
२०७८ मंसिर १५, बुधबार ०९:०९

हेटौंडा-हेटौंडामा केन्द्रीय कार्यालय रही देशका सातै प्रदेशमा सेवा प्रदान गरिरहेको मानव सेवा आश्रमलाई सरकारी निकायबाट मात्र १४ करोड अनुदान प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७७÷ ०७८ भित्र आश्रमलाई संघीय  सरकारदेखि स्थानीय तहसम्मले १४ करोड ५ लाख ७९ हजार ७ सय ४९ रुपैयाँ अनुदान दिएको छ । आश्रमले वार्षिक आयव्यय सार्वजनिक गर्दै सरकारी तहबाट मानव सेवाका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको बताएको छ ।

आश्रम केन्द्रीय कार्यालय हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गर्दै हजारदेखि करोड रुपैयाँसम्म सरकारबाट सहयोग लिएको जानकारी दिएको छ । संघीय सरकारले मात्रै आश्रमलाई ४ करोड ९२ लाख ४५ हजार ३ सय ७० रुपैयाँ अनुदान दिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १ करोड ३ लाख ७४ हजार ३ सय ७० र मन्त्रालयकै पन्जिकरणले ३ करोड ८८ लाख ९८ हजार  रुपैयाँ अनुदान दिएको आश्रमले जानकारी दिएको छ ।

२०८२ सालभित्र घरबार विहिन, बेसाहारा तथा जीवन नै जोखिममा रहेका मानवहरुरहित नेपाल निर्माण गर्ने उद्देश्य बोकेको आश्रमले देशका सातवटै प्रदेशका १७ जिल्लामा गरेर २५ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको आश्रकका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।  २०६९ सालमा हेटौंडा– बाट सुरु आश्रमको अभियानले सहयोगापेक्षी मानवहरुको व्यवस्थापन गर्दै आइरहेका कारण खुला आकाश– मुनी रात बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको व्यवस्थापनको आवश्यकतालाई मध्यनजर गरेर
सरकार निकायबाट सहयोग प्राप्त भएको अधिकारी बताउँछन् ।

आश्रमलाई प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयले गरी कुल ५ करोड ६७ लाख ३२ हजार ७ सय ४३ रुपैयाँ अनुदान दिएको जनाइएको छ । १ नम्बर प्रदेशको स्वास्थ्य निर्देशनालयले २९ लाख १५ हजार ५ सय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीले ८ लाख, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले चन्दा स्वरुप ५८ लाख ५४ हजार ५ सय ८०, मन्त्रालयले अनुदान स्वरुप ४९ लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको आश्रमले जानकारी दिएको छ ।

आश्रमका अनुसार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले २ करोड ७९ लाख २३ हजार ६ सय ४५, १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले ६८ लाख, ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले ७० लाख र सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले ४ लाख २ हजार ९ सय ७ रुपैयाँ अनुदान दिएको छ । सातै प्रदेशका करिब ५० वटा स्थानीय तहले आश्रमलाई ३ करोड ४६ लाख १ हजार ६ सय ३६ रुपैयाँ अनुदान दिएको प्रस्तुत आयव्ययमा उल्लेख छ ।

आश्रमलाई सरकारी अनुदानसहित निजी संघसंस्था र व्यक्तिबाट गरी कुल २३ करोड ९६ लाख ७९ हजार ३ सय ९५ रुपैयाँ गत आर्थिक वर्ष २०७७÷०७८ मा आम्दानी भएको जनाइएको छ । निजी संघ संस्था र व्यक्तिबाट ९ करोड १२ लाख ८५ हजार ७ सय २३ रुपैयाँ सहयोग उपलब्ध भएको आश्रमका सञ्चालक अधिकारीले जानकारी दिएका छन् । अनुदान बाहेकका अन्य आयबाट आश्रमलाई ७८ लाख १३ हजार ९ सय २३ रुपैयाँ आम्दानी भएको आश्रमले जनाएको छ ।

आश्रमले विभिन्न शिर्षकमा गत आर्थिक वर्षभित्र १२ करोड ७८ लाख ५८ हजार १ सय ७४ रुपैयाँ खर्च भएको जनाएको छ । आश्रम सञ्चालनमा ६ करोड ४० लाख ४७ हजार ३ सय ६७, प्रशासनिक तथा व्यवस्थापकीयतर्फ २ करोड ७५ लाख २१ हजार २ सय ४१, कार्यक्रम गर्दा ६७ लाख ७१ हजार ५ सय ४५, कर्मचारी सुविधामा १ करोड ३६ लाख १० हजार ४ सय ७२, मर्मत तथा सम्भारमा २९ लाख २२ हजार १ सय २४ रुपैयाँ खर्च भएको जनाइएको छ । आश्रमले आर्थिक वर्ष २०७६÷०७७ मा १० करोड ९२ लाख ३५ हजार २ सय ३९ रुपैयाँ आम्दानी भएको र ७ करोड ८५ लाख ५५ हजार ४ सय ८८ रुपैयाँ खर्च भएको जनाएको छ ।

आश्रमका सबै सेवा केन्द्रबाट हालसम्म ६ हजार २ सय ७५ जनाले सेवा लिएको आश्रकका अध्यक्ष अधिकारीले जानकारी दिए । आश्रित २ हजार ४ सय २५ जनाको परिवारिक पुर्नमिलन गरिसकेको जनाइएको छ । आश्रममा बसेर उपचार गराइसके पछि स्वेच्छाले १ हजार ६ सय ६७ जना गएको र आश्रमको  संरक्षणमा रहँदा ६ सय ३४ जनाको निधन भएको तथ्यांक छ ।

आश्रममा आश्रित ३ सय ५४ जनालाई सामुदायिक पुर्नस्थापना गरिएको छ । देशभरका २५ सेवा केन्द्रमा हाल १ हजार ५ सय ६७ जना आश्रय लिइरहेको अध्यक्ष अधिकारीले बताए ।  आश्रमको केन्द्रीय कार्यालय हेटौंडाबाट भने हालसम्म १ हजार ३ सय ५५ जनाले सेवा लिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*