अन्तरपालिका फुटबलको खेल तालिका सार्वजनिक

साझाकुरा
२०७८ मंसिर १६, बिहीबार ०९:४३

हेटौंडा-जिल्ला समन्वय समिति मकवानपुर र खेलकुद विकास समितिको आयोजनामा शनिबार मंसिर १८ गतेबाट सुरु हुने ‘अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोजक जिसस मकवानपुरले खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार शनिबार उद्घाटन खेल अन्तर्गत हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

मंसिर १९ गते आइतबार पहिलो खेल कैलाश र बकैया गाउँपालिका र दोस्रो खेल राक्सिराङ र भीमफेदी गाउँपालिकाबीच हुनेछ । मंसिर २० गते सोमबार पहिलो खेत इन्द्रसरोवर र बागमती गाउँपालिका र दोस्रो खेल थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच हुने आयोजनाले जनाएको छ । मंसिर २१, २२ र २३ गते क्वार्टरफाइनल अन्तर्गतका खेलहरु हुनेछन् । मंसिर २५ गते शनिबार दिउँसो १ बजेबाट फाइनल प्रतिस्पर्धा हुने खेल तालिकामा उल्लेख छ । ८४ औं बोर्ड बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । जिससले गत वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा अन्तिम अवस्थामा कोभिडका कारण स्थगित भएको थियो ।

स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडि उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडि छनोट गर्न समेत मद्दत पुग्ने उद्देश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख रघुनाथ खुलालले बताए । करिब ७ लाख ५८ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको छ ।  आयोजित पत्रकार सम्मेलनमा जिसस अध्यक्ष खुलाल, उपाध्यक्ष भगवती पुडासैनी, खेलकुद विकास समिति अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*