हेटौंडामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने
हेटौंडा÷हेटौंडामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता गर्ने तयारी भएको छ । नेपाल हक्की संघको आयोजना तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । हक्की संघ केन्द्रले हेटौंडामा प्रतियोगिता गर्ने निर्णय गरेपनि जिल्ला संघले शनिवार मात्रै निर्णय दिने भएको छ । संघका केन्द्रीय सदस्य मनोज शर्माले साझाकुरासँग कुरा गर्दै केन्द्र संघले निर्णय गरेपनि जिल्लाले शनिवार मात्रै ठोस निर्णय गर्ने बताए । जिल्लाले सबै खाले तयारीका बारेमा समिक्षा गरेर मात्रै निर्णय गर्ने उनको भनाई छ ।
प्रतियोगिता आगामी पुसको १३ देखि १७ गतेसम्म प्रतियोगिता गर्ने तयारी संघको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरुसहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र विभिन्न संघ संस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जनाइएको छ ।
संघले स्वर्गीय सहाना प्रधानको स्मृतिमा विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोली, दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेश र तेस्रो संस्करणको उपाधि वभागीय टोली नेपाल आर्मीले जितेको थियो । पहिलो संस्करण मकवानपुरमै भएको थियो । जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले शनिवार संघको बैठक बसी प्रतियोगिताको तयारी अघि बढाइने बताए ।