काँग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ, प्रधान र केसीबीच भीडन्त

साझाकुरा
२०७८ मंसिर १७, शुक्रबार १३:५५

हेटौंडा-नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन सुरु भएको छ । १६–१८ मंसिरसम्म हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।  पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति प्रकाशमान सिंह र बर्तमान महामन्त्री डा.सशांक कोइरालाको संस्थापन इत्तर पक्षबीच चुनावी भीडन्त हुने सम्भावना देखिन्छ ।

संस्थापन तर्फबाट देउवा र सिटौलाको सहमतीमा एक र संस्थापन इत्तर समूहबाट अर्का एक उम्मेदवार बीच प्रतिस्पर्धा हुने भनिएपनि देउवा र सिटौलाबाट फरक –फरक उम्मेदवारले आफ्नो अडान नछाड्दा त्रिपक्षीय भीडन्त हुने निश्चित भएको हो । देउवा पक्षबाट मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, सिटौला पक्षबाट भीमसेनदास प्रधान र संस्थापन इत्तरको पौडेल पक्षबाट जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा हुनेछ ।

संस्थापन पक्षबाट बानियाँ र प्रधानले अडान नछाडेका कारण एक मात्र उम्मेवार टुंग्याउन नसक्दा पौडेल पक्षका एक्ला उम्मेदवार केसीसँग संस्थापन पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ । प्रधानसँग निकट रहेका नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधान संस्थापन पक्षबाट टुंग्याइएको उम्मेदवार रहेको बताए । उनले देउवा र सिटौलाको सहमति अनुसार संस्थापन पक्षबाट प्रधानलाई सभापतिको उम्मेदवार बनाइएको दाबी गरे ।

‘प्रधान धेरै समय अघिदेखि प्रदेश सभापति हुने पक्का हुनुहुन्थ्यो ।’ उनले भने, ‘त्यसकारण पनि उहाँ हाल पार्टीभित्र पदमा हुनुहुन्न । उहाँनै संस्थापन पक्षको उम्मेदवार हो भन्ने अझ बढी आधिकारिकता भोलि उम्मेदवार दर्ताले देखाउने छ ।’ उनले देउवा र सिटौलाबीच प्रदेश २, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा देउवा पक्षका र प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सिटौला पक्षका उम्मेदवारलाई अघि सार्ने सहमती भएको जानकारीसमेत दिए ।

केसीको प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेको माइकल रामचन्द्र अर्यालका अनुसार केसी संस्थापन इत्तर पक्षको एक मात्र आधिकारिक उम्मेदवार रहेको बताए । उनले पौडेल पक्षबाट उम्मेदवार पक्का भइसकेको र उम्मेदवारी दर्ताको समय अघि प्यानलनै घोषणा गरेर चुनावी मैदानमा होमिने उनले प्रतिक्रिया दिए । ‘सभापतिका दाबेदार धेरै देखिएका थिए, तर सहमतीमा केसी एक्ला उम्मेदवार तय भएका हुन् ।’ अर्यालले भने ।

बानियाँसँग निकट रहेका मकवानपुर काँग्रेस नेता आनन्दराम पराजुलीले बानियाँ संस्थापन पक्षको आधिकारिक उम्मेदवार रहेको दाबी गरे । उनले आज अधिवेशन स्थलमै बानियाँको प्यानलसहित उम्मेदवार घोषणा हुने बताए । ‘देउवाले प्रकाशशरण महतलाई बागमती प्रदेशको पद बाँडफाँड गर्ने जिम्मा तोक्नु भएको छ ।’ उनले भने, ‘महतले बानियाँ उम्मेदवार रहेको बारे ब्रिफिङ गरिसक्नु भएको छ । प्यानल निर्माण उम्मेदवारी दर्ता अघि टुंगिनेछ ।’

अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बागमती प्रदेशमा पर्ने काठमाडौं उपत्यकासहित १३ जिल्ला बाट २ हजार १ सय प्रदेश प्रतिनिधि हेटौंडा आइपुगेका छन् ।
मुख्य निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता केशव काफ्लेका अनुसार मतदानमा २ हजार १ प्रतिनिधि सहभागी हुने छन् । निर्वाचन प्रक्रिया बाट एक सभापति, दुई उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री, १ सचिव र विभिन्न क्षेत्रबाट ८३ सदस्य सहित ९१ जना निर्वाचित हुनेछन् ।
नेतृत्व चयन सहज बनोस्ः प्रकाशमान
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बागमती प्रदेशको अधिवेशनबाट भातृत्वको भावना साथ नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
अधिवेशनको संयोजक समेत रहेका सिंहले सकेसम्म सर्वसम्मत नभए भातृत्वको भावनासाथ निर्वाचन सम्पन्न गर्न आग्रह गरेका हुन् । ‘यो काँग्रेसको आन्तरिक निर्वाचन हो, यहाँबाट स्वच्छ प्रतिस्पर्धात्मक तवरबाट नेतृत्व चुनिन आवश्यक छ ।’ पूर्वउपसभापतिसमेत रहेका सिंहले भने, ‘अत्यन्त गम्भीर भएर नेतृत्व चयन गर्न म प्रतिनिधिहरुलाई आग्रहसमेत गर्दछु ।’

उनले बर्तमान अवस्था– लाई चुनौती सामना गर्न परिणत गर्न आवश्यक रहेको उनको धारणा थियो । कार्यक्रममा काँग्रेस सह–महामन्त्री प्रकाशशरण महत, पुर्वमन्त्री एवम कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए । संयोजक सिंहको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो । देउवाले भर्चुअलमार्फत काठमाडौंबाटै अधिवेशनको उद्घाटन गरेका थिए ।

पत्रकारहरुसँग थप कुरा गर्दै नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा आफु नेचुरल उम्मेदवार रहेको दाबी गरे । उनले पार्टीलाई सुदृढसहित अघि बढाउन र आम निर्वाचनबाट जित दिलाउन आफ्नो नेतृत्व हुनुपर्ने बताए । ‘मैले पार्टीभित्रै धेरै पटक फरक मत राख्दै आएको छु ।’ उनले भने, ‘पार्टीभित्र नेतृत्वले खराब ढंगको काम हुँदा मेरो संदैव विरोध रहिआएको छ ।’  उनले हालको नेतृत्वबाट पार्टीको उन्नती हुन नसक्ने र पार्टी थप धरासायीतर्फ उन्मुख हुने आरोप समेत लगाए । काँग्रेसमा पछिल्लो समय युवा पुस्ताको चासो देखिएको र प्रतिनिधिसमेत युवा चुनिएकोले उनीहरुलाई सँगै लिएर अघि बढ्नसमेत आफ््नो भूमिका रहने सिंहले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*