बागमतीमा भागबण्डा मिलाउन १४ वटा मन्त्रालय बनाइयो

साझाकुरा
२०७८ मंसिर १८, शनिबार १२:११

हेटौंडा– गठबन्धनको बागमती प्रदेश सरकारले भागबण्डा मिलाउन मन्त्रालय संख्या बढाएर १४ वटा बनाएको छ । विगतको ७ मन्त्रालयभन्दा त्यसको दोब्बर संख्यामा मन्त्रालय निर्माण गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वको सरकारले एउटै मन्त्रालयलाई तीन टुक्रा पारेको छ । पहिले स्थापना हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको मन्त्रालयलाई अहिले पाण्डेको नेतृत्वको सरकारले तीन वटा बनाएको छ । यस्तै पहिलेनै फुटाइएको सामाजिक विकास मन्त्रालय फेरी फुटाइएको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फुटाइएको छ ।

गठबन्धन सरकारमा सहभागी चार दलबीच भागबण्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएको हो । विद्यमान ८ मन्त्रालय टुक्र्याउँदै १४ मन्त्रालय बनाइएको छ । मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।

हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेका थिए । यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय बनाएको थियो ।

हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएको छ । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ ।

भौतिक पूर्वाधार बिकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय बनाइएको छ । गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*