मकवानपुरे नेता कमल थापा राप्रपा अध्यक्षमा पराजित

साझाकुरा
२०७८ मंसिर २०, सोमबार ११:२९

हेटौंडा-मकवानपुरका कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएका छन् । करिब दुई दशक राप्रपाको अध्यक्ष चलाएका थापालाई झापाका राजेन्द्र लिङ्देनले हराएका हुन् । लिङदेनले १ हजार ८ सय १७ मत ल्याउँदै अध्यक्षमा जितेका थिए । थापाले १ हजार ६ सय १७ मत मात्रै ल्याउन सके ।
थापा मकवानपुरका नेताहरुमध्ये उच्च अहोदामा पुग्ने पहिलो व्यक्ति हुन् । उनी मकवानपुरका नेतामध्ये पहिलो मन्त्री पनि हुन् । उनले गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाटपनि एमालेका कृष्ण प्रसाद दहालसँगपराजित हुनु परेको थियो ।

झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देनको जन्म २२ भदौ २०२२ मा पाँचथरको अमरपुरमा भएको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर उनी चर्चित बनेका थिए । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भई राजनीतिक यात्रा गरेका थिए । २०४७ सालमा  राप्रपाको झापा जिल्ला सचिव बने ।

२०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । राष्ट्रिय प्रजानतन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत् आइतबार बिहान सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई दुई सय मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन् । कमल थापा पराजित भएपनि उनको परिवारका दुई जना पार्टीमा विजयी भएका छन् ।

थापाकी कान्छी छोरी प्रतिष्ठा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् । प्रतिष्ठाले १ हजार ५ सय ३० र भतिजा अभिषेकले १ हजार ३ सय २७ मत ल्याए । उनीहरु दुवै जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । महाधिवेशनबाट विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा रोशन कार्की विजयी भइन् । महामन्त्रीमा धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन् ।

अध्यक्षमा हारेपनि थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएक छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोश व्यक्त  गरेका छन् । उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाए । ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार निर्मल निवासबाट आज पाइयो ।,’ थापाले भने ।
उनले प्रतिकुल परिस्थितिमासमेत आफूलाई विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुप्रति आभार व्यक्त गरे ।  राजसंस्थाको एजेण्डा बोक्ने मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् भन्दै कामना गरे । अहिले आफूले राहत र उन्मुक्ति पाएको थापाले उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*