विकासमा लाग्न मन्त्री लामाको निर्देशन

साझाकुरा
२०७८ मंसिर २०, सोमबार ११:५७

हेटौंडा-बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशका स्वास्थ्य संस्थाबाट दिइने सेवाको स्तरीयतामा कमी हुन नदिन र विकासमा लागि पर्न निर्देशन दिएका छन् । मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको आयोजनामा भएको ‘आवश्यक निःशुल्क औषधी र स्वास्थ्य सामग्रीको परिमाण’ सम्बन्धी ३ दिने गोष्ठी समापन कार्यक्रममा बोल्दै मन्त्री लामाले नागरिकको स्वास्थ्य सधैं गुणस्तरीय र सर्वसुलभ हुनुपर्ने भन्दै यसतर्फ विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका हुन् ।

उनले स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवाका लागि आवश्यक औषधी र सामग्रीका लागि मन्त्रालयसंग माग गर्न भन्दै यसको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफुले बागमती प्रदेशका सबै जिल्लाका स्वास्थ्य संस्थाको निरीक्षण गर्ने र समस्याको समाधानको कामलाई दृढ भई समाधान गर्नै बताए ।  उनले यसअघिका कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लामाले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सरकारले लिने बताए। उनले कोरोनाको नयाँ भेरियन्टको जोखिमबारे पूर्वानुमान गर्दै ‘अर्लट’ अवस्थामा रहन समेत सबै जिल्लाका स्वास्थ्य संस्थालाई निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, मन्त्रालयका प्रवक्ता बरिष्ठ जनस्वास्थ्य प्रशासक बसन्त अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. अर्जुन सापकोटा, स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वरमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । तीन दिने गोष्ठीमा विभिन्न जिल्लाका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, स्टोर किपर र फार्मसिष्टहरुको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*