हिंसा रोक्न सबै लागौं

साझाकुरा
२०७८ मंसिर २१, मंगलवार ०९:२६

विगत केहि वर्षदेखि समाजमा महिला हिंसाका घटनाहरु बढी नै सार्वजनिक भइरहेका छन् । त्यसमा पनि महिलामाथि हुने यौनजन्य हिंसाको मात्रा बढ्दै गएको छ । विगतमा महिलामाथि घरेलु हिंसा बढी हुने गरेको भए पनि पछिल्लो समय यौनजन्य हिंसामा बढोत्तरी भइरहेको छ । विशेषगरी महिलामाथि हुने बलात्कार र हत्याका घटना बढ्दै जाँदा महिलाहरु असुरक्षित महसुस गर्न थालेका छन् । बालिका, किशोरीदेखि वृद्धासम्म बलात्कारको शिकार बन्नु  परेको अवस्था विद्यमान छ । पछिल्लो समय सञ्चार माध्यमहरुमा आउने यौनजन्य हिंसाका खबरहरुको बढी चर्चा हुने गरेको छ । यौनजन्य हिंसाका घटना वृद्धि हुँदै जाँदा समाज विकृत बन्दै गएको  छ । यस्ता घटनाले समाजलाई अपराधीकरणतर्फ अग्रसर बनाइरहेको छ ।

देश अहिले हिंसा र बलात्कारका घटनाले जर्जर बनेको छ । घटना तुलनात्मकरुपमा बढेका हुन् वा सहजै बाहिर आएका हुन् त्यो अध्ययनको पाटो हो । तर केही घटनाहरु यसरी आएका छन् कि, ती घटनाको प्रकृतिले नेपाली समाज कति निर्दयी र हिंस्रक बनिरहेको छ भन्ने उदाहरण बनेको छ । यद्यपि यसअघि धेरै घटनाहरु लुकेर बाहिर आउने अवसरसमेत पाएका थिएनन् । सञ्चार माध्यम, सामाजिक सञ्जाल र नेपाली समाजको सचेतनाको कारण आपराधिक घटनाहरु सार्वजनिक गर्न सहज भएको छ । नेपाल प्रहरीले पनि अधिकांश घटनाको गहन अनुसन्धान गरेर अपराधि पत्ता लगाउने गरेको छ । यसबाट पीडितले केही राहत पाउने वातावरण पनि बनेको छ । तर, पछिल्ला केही महिनादेखि रहस्यमय बनेको कञ्चनपुर घटनामा भने नेपालका सबै सुरक्षा निकाय चुकेको पाइन्छ ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना यसको एउटा गम्भीर उदाहरण हो । यस घटनामा सुरक्षा निकायले अहिलेसम्म सफल अनुसन्धान गर्नै सकेको छैन । घटनासँग सम्बन्धित प्रहरी निकायको बरिष्ठ अधिकारी निलम्बन गरी राज्यका सबै निकाय लागिपर्दा पनि अपराधि पत्ता लाग्न सकेको छैन । यत्रो समय बितिसक्दा पनि एउटा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान हुन नसक्नुले राज्यको सुरक्षा निकायप्रति गम्भीर आरोप लागेको छ । यसले भर्खरै सम्पन्न महिला हिंसाविरुद्धको १६ दिने अभियानको आचित्यमाथि पनि प्रश्नचिह्न उब्जाएको छ ।

नेपाली समाजमा बढ्दै गएको यौनजन्य हिंसाका कारण बालिका, किशोरी तथा महिलाहरु असुरक्षित रहेको स्पष्ट पार्दछ । यस्ता घटना बढ्दै जानु र घटनाका दोषी पक्राउ नपर्नुले देशमा अझैपनि निर्धक्क बस्ने अवस्था नरहेको आभाष दिन्छ । कति बेला के हुने हो भन्ने त्रासमा अझैपनि महिलाहरु बस्न बाध्य छन् । जबसम्म महिलाहरु निर्धक्क भएर आफ्ना गतिविधि गर्न पाउँदैनन्, तबसम्म सरकारले सुरक्षा व्यवस्थाबारे गम्भीर भएर सोच्न जरुरी छ । कञ्चनपुर घटनाबाट गम्भीर पाठक सिकेर सरकार महिला हिंसाको क्षेत्रमा संवेदनशील हुन जरुरी छ । हरेक वर्ष केहि अवधिभर महिला हिंसा अन्त्य गर्ने भन्दै अभियान चलाउने र त्यसमा ठूला–ठूला भाषण र प्रतिबद्धता जाहेर गर्दैमा अभियान सार्थक बन्न सक्दैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*