काँग्रेस बागमती प्रदेश पदाधिकारीमा देउवा–पौडेल दुबै समेटिए

साझाकुरा
२०७८ मंसिर २२, बुधबार १४:१३

हेटौंडा-बागमती प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा संस्थापन र संस्थापन इत्तर दुबै पक्ष समेटिएका छन् । सभापतिसहित आठ जना पदाधिकारी चुनिने अधिवेशनबाट चार संस्थापन (देउवा) र चार जना संस्थापन इत्तर (पौडेल) पक्ष गरी बराबर हिस्सामा बाँडिएर निर्वाचित भएका छन् ।  मंगलबार बिहान २ बजे सम्पन्न पदाधिकारीहरुको मत गणनाको परिणामअनुसार उप– सभापतिमा संस्थापन इत्तर समूहका मोहनबहादुर बस्नेतले एक हजार ५९ र संस्थापन पक्षका चन्द्र महर्जनले एक हजार ३७ मत ल्याइ विजयी भए । महर्जन दोस्रो चरणको सभापति निर्वाचनमा बानियाँलाई समर्थन गर्ने कृष्ण सिटौला निकट भीमसेनदास प्रधानको प्यानबाट उपसभापतिका उम्मेदवार हुन् ।

यसैगरी उपसभापतिका उम्मेदवार देउवा–सिटौला पक्षका धर्मराज गौतमले एक हजार चार र पौडेल पक्षका राजेन्द्र बुर्लाकोटीले आठ सय ३९ मत ल्याइ पराजित भए । महामन्त्रीमा संस्थापन इत्तरका कञ्चन चन्द्र बादेले नौ सय ९५ र संस्थापन पक्षका राजु श्रेष्ठले नौ सय १० मत ल्याए निर्वाचित भए । महामन्त्रीका संस्थापन इत्तरका माइकल रामचन्द्र अर्याल आठ सय ९९, संस्थापन खेमाका तिलकप्रसाद रुवालीले सात सय ६० मत मात्र पाएर पराजित भए । दुई पक्षको टिममा नपरेका सुरेश श्रेष्ठले एक सय ६३ र गौरी प्रसाद दवाडीले एक सय ८८ मत ल्याए ।

खुलातर्फको सह– महामन्त्रीमा संस्थान इत्तरका ऋषिराम घिमिरेले नौ सय १६ मत र संस्थापन पक्षका हरिशरण श्रेष्ठले आठ सय ३९ मत ल्याएर विजयी भए । सहमहामन्त्रीका उम्मेदवारहरु वीर बहादुर तामाङ आठ सय ३५, महेन्द्र थिङ आठ सय १, राजकुमार पाठक दुई सय १७, जगन्नाथ धिमाल एक सय ५४ र जयनारायण सापकोटाले ८५ मत मात्र ल्याए । महिलातर्फको सहमहामन्त्रीमा संस्थापन इत्तरकी जीवन डंगोलले नौ सय ४९ मत ल्याए जित हासिल गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी संस्थापन इत्तरकी निर्मला बस्ताकोटी खड्काले सात सय ८६ मत र मोतिमाया तामाङले दुई सय १८ मत गरिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*