मन्त्री भँडेलद्वारा मन्दिर उद्घाटन

साझाकुरा
२०७८ मंसिर २३, बिहीबार ११:४३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रुद्रेश्वर मन्दिर परिसरमा सुवेदी परिवारद्वारा निर्मित सिद्धि विनायक गणेश मन्दिरको उद्घाटन गरिएको छ ।
मंगलबार बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णलाल भँडेलले एक कार्यक्रमबीच उक्त मन्दिरको उद्घाटन गरेका हुन् ।  सो क्रममा प्रमुख अतिथिसमेत रहेका भडेलले कुनैपनि धर्म संस्कृतिको रक्षाका लागि दल विशेष वा राजनितिले फरक नपार्ने बताए । उनले धर्म संस्कृतिनै हाम्रो पहिचान भएकाले आफ्नो पहिचान कायम राख्नका लागि बागमती प्रदेश सरकार तयार रहेको स्पष्ट पार्दै विभिन्न धर्म र संस्कृति जोगाउन मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिद निर्माणमा कुनैपनि कन्जुस्यार्इं नगर्ने बताए ।

उनले रुद्रेश्वर मन्दिर परिरसलाई धार्मिक पर्यटकिय रुपमा विकास गर्न सकिने भएकाले आफ्नो मन्त्रालय र बागमती सरकारका तर्फबाट सहयोगका लागि पहल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका सांसद सन्त चेपाङले रुदे्रश्वर मन्दिर परिसरको विकासका यसअघिको प्रदेश सरकारले खासै चासो नदेखाएको दावी गर्दै सहयोग गर्ने बाचा गरे । यस्तै, हेटौंडा उपमहानगरापालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजेश बानियाँले रुद्रेश्वर मन्दिर परिसरको विकासका लागि सहयोग गर्न आफु सधै तत्पर रहेको बताए । उनले छिट्टै आफ्नै लगानीमा शिव मन्दिर निर्माण सुरु गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

रुद्रेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजिव सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिकी उपसाभापति डोल्मा स्याङ्बो, वडा नम्बर ८ का सभापति भुपेन्द्र कोइरालालगायत स्थानियको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*