पहिलो चेपाङ मन्त्री बन्न लागेका सन्तबहादुर झुक्किएपछि…

साझाकुरा
२०७८ मंसिर २४, शुक्रबार ०९:२०

हेटौंडा-बागमती प्रदेशको भौतिक पूर्वाधार विकास  राज्यमन्त्री बन्ने खबर पाएपछि हर्षित मुद्रामा घरबाट हिँडेका सन्तबहादुर चेपाङ एक्कासी झस्किए । नेपाली काँग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेका सन्तबहादुर चेपाङ आफ्नो समुदायबाट पहिलो मन्त्रीको ऐतिहासिक नाम लेखाउन आत्तुर छन् । उनको नाम मुख्यमन्त्री राजेन्द्र पाण्डे नियुक्तपछि विस्तार हुने मन्त्रिपरिषद््मा चर्चामै छ । काँग्रेस प्रदेश अधिवेशनका कारण मन्त्रिपरिषद् विस्तार रोकिँदा उनी अघि बढ्ने पाइला पनि रोकिएको थियो तर, बिहीबार सपथ ग्रहणनै रोकिएपछि आफ्नो घर मकवानपुरको राक्सि– राङबाट हेटौंडातर्फ हर्षित हुँदै  आइरहेका उनी बीच बाटोमै  झस्किए ।
उनको प्रतिक्रिया यस्तो थियो– ‘म बाटोमा छु, हेटौंडा आइपुगेर पार्टी कार्यालयबाट पत्र लिएर पार्टीको तर्फबाट मुख्यमन्त्रीलाई बुझाउन जान्छु’, उनले भनेका थिए, ‘आजै ५ बजे शपथग्रहण गराउने कुरा भएको छ । म तयार भएर आउँदै छु ।’

यस्तो प्रतिक्रिया दिँदै हर्षित भइरहेका सन्तबहादुर सपथ रोकिँदा निराश हुनु परेको हो । सन्तबहादुर राक्सिराङबाट हेटौंडा आइपुग्दासम्म पनि अन्य दलले भने मन्त्रिपरिषद् विस्तारबारे आफूलाई जानकारी नभएको बताइरहेका थिए । बागमती प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने कुनै तयारी नरहेको बताए । उनले कांग्रेसको महाधिवेशन र माओवादीको प्रदेश अधिवेशनअघि बागमतीमा मन्त्रिपरिषद् विस्तार नहुने दाबीसमेत गरे । खनालले बिहीबार राज्यमन्त्री नियुक्त गर्ने विषयमा छलफल नै नभएको बताए । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पनि बिहीबार मन्त्रिपरिषद् विस्तार हुनेबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले आफू मुख्यमन्त्री राजेन्द्र पाण्डेसँगै रहेको भन्दै महाधिवेशनअघि मन्त्रिपरिषद् विस्तार नहुने जिकिर गरे । उनले भने, ‘को माननीय शपथग्रहण खान आउँदै हुनुहुन्छ कुन्नी’ मुख्यमन्त्री पनि यहीं हुनुहुन्छ, महाधिवेशनअघि मन्त्रिपरिषद् विस्तार हुँदैन भन्दै हुनुहुन्छ । उहाँको दौरा सुरुवाल फाट्ने भो ।’ प्रदेश प्रमुखको कार्यालयले पनि शपग्रहणबारे आफूहरुलाई कुनै जानकारी नआएको बताएको छ । उता कांग्रेसका प्रदेशसभा सदस्य चेपाङ भने शपथग्रहण गर्न हेटौंडा आइपुग्न लाग्दासम्म यस विषयमा बेखबर थिए ।
शपथग्रहण स्थगनबारे उनीसँग प्रतिक्रिया लिँदा आफूलाई स्थगन भएको विषयमा कसैले जानकारी नदिएको उनले बताए ।

‘मलाई दाइले पत्र काटेर राख्दिएको छु भन्नु भएको थियो। त्यही पत्र दलको तर्फबाट मुख्यमन्त्रीलाई बुझाएर शपथग्रहण गर्ने कुरा थियो ।  स्थगित भयो भन्ने  बारेमा मलाई कसैले केही पनि जानकारी नै दिएनन्’, उनले भने । चेपाङका अनुसार उनलाई कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहीबार मन्त्री बन्ने कुरा सुनाएका थिए ।  यता आफूलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको शपथग्रहण लिन भन्दै बानियाँ कांग्रेस महाधिवेशनका लागि काठमाडौं गएको चेपाङले बताए । दलको नेताले नै भनेपछि राज्यमन्त्रीको शपथग्रहण गर्न घरबाट प्रदेश राजधानी हिँडेका उनी झुक्किए ।

बिहीबार मन्त्रिपरिषद् विस्तार नभए पनि कांग्रेस महाधिवेशनपछि मन्त्रिपरिषद् विस्तार हुँदा भने चेपाङ कांग्रेसबाट राज्यमन्त्री बन्नेको पहिलो  नम्बरमा नै पर्छन् ।
संसदीय दलको नेता बानियाँको प्रियपात्र हुनुको साथै पिछडिएको चेपाङ समुदायको सांसद पनि भएकोले उनी ढिलोचाँडो राज्यमन्त्री बन्ने भने पक्का छ ।
मुख्यमन्त्री पाण्डेले हाल कायम रहेको ८ मन्त्रालय फुटाएर भागबण्डा पु¥याउन १४ मन्त्रालय बनाइसकेका छन् । पार्टीहरुको महाधिवेशन र अधिवेशनपश्चात् ती मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गर्ने उनको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*