कांग्रेसको महाकुम्भ मेला सुरु

‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन ।
साझाकुरा
२०७८ मंसिर २५, शनिबार ०९:४२

हेटौंडा-शुक्रबारदेखि कांग्रेसको ऐतिहासिक १४ औँ महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन सत्र सुरु गरिएको हो ।  उद्घाटन सत्र लगतै शुक्रबारनै कांग्रेसले बन्द सत्रसमेत अघि बढाएको छ । यसअघि १३ औँ महाधिवेशन पनि ०७२ फागुनमा भृकुटीमण्डपमै भएको थियो । उद्घाटनमा देशका प्रमुख पार्टीका नेताहरु, विदेशी प्रतिनिधिहरु र कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।
उद्घाटनका लागि भृकुटीमण्डपको प्रांगणमा एक सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार खडा गरिएको छ । महाधिवेशनमा सहभागी कुल चार हजार सात सय महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश काठमाडौंमा छन् । उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरण सहितको झोला केन्द्रीय कार्यालय सानेपाबाट वितरण सुरु गरिएको छ । महाधिवेशन सफल पार्न र चुनावी प्रक्रियामा सहभागी हुन मकवानपुरबाट पार्टीका नेता, महाधिवेशन प्रतिनिधि, भातृ संगठन, शुभेच्छुक संगठनका प्रमुख

कार्यकर्ता र मकवानपुरको १० वटै स्थानीय तहबाट करिब ५ सय बढी काठमाडांै पुगेका छन् । कोभिड–१९ महामारीका कारण काठमाडौं उपत्यकाबाहिरबाट अधिक संख्यामा सहभागी बोलाइएको छैन । पार्टीका महाधिवेशन प्रतिनिधि र स्वःस्फुर्त रुपमा आउने सहभागी मात्र उद्घाटनमा सहभागी भएका छन् । सहभागीलाई हेर्न सजिलोका लागि मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको थियो । महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रुख अंकित झन्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी र अन्य नेताहरुको संयोजकत्वमा आर्थिकलगायत उपसमिति बनाइएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको व्यवस्थापनको प्रबन्ध मिलाएको छ । नेपाल प्रहरीले तीन तहको घेरा र उच्च प्रविधिसहित सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

विगतमा केन्द्रीय महाधिवेशनबाट पार्टीको नीति तथा कार्यक्रम पनि छलफल गरेर अनुमोदन गर्ने गर्दथ्यो । तर, यसपटक तोकिएको समयभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले कांग्रेसले नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय गरेको थियो । आफ्नो समूहमा आकांक्षी धेरै भएपछि सभापति शेरबहादुर देउवाले बिहीबारको केन्द्रीय समिति बैठकबाट पदाधिकारीको संख्या बढाउने प्रस्ताव पारित  गराउने तयारी गरेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि देउवा पछाडि हटेका छन् । संस्थापन पक्षले खुलातर्फ दुई सहमहामन्त्री थप्ने गरी विधान संशोधनको प्रस्ताव लैजाने तयारी गरेको थियो । तर, इतर पक्षले असन्तुष्टि जनाएपछि विधान संशोधन प्रस्ताव रोकिएको छ ।

कुन दलका नेताले के भने ?
केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले
केपी शर्मा ओलीले केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले देश बनाउने विषयमा एकै स्थानमा रहेको बताए । ‘केही केहीलाई कांग्रेसको औंला समाउन नपाउने हो कि भनेर चिन्ता रहेको छ,’ ओलीले भने, ‘राष्ट्रियता, लोकतन्त्र, विकास सुशासन, सामाजिक न्यायको विषयमा एकै स्थान छ । हामी यो विषयमा सहकार्य गर्छौं ।’ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाली कांग्रेससँग सहकार्य रहेको छ । कार्यक्रममा ओलीले पुष्पकमल दाहाल र माधव कुमार नेपालप्रति व्यंग्य गरेका थिए । ओलीको सम्बोधनभन्दा अघि दाहालले एक्लै हिँड्न खोजेको अहंकारी समाप्त हुने बताएका थिए ।
पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष नेकपा माओवादी केन्द्र

पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।  उनले शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’  राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नैपर्ने हुन्छ । ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो’ प्रचण्डले भने । ‘पार्टी ठूलो भएपछि मनोगतवाद, अहंकार र कुनै न कुनै दम्भ आउने र जनतासँगको सम्बन्ध कमजोर हुने तीतो अनुभव मैले गरेको छु ।’ प्रचण्डले भने ।
माधवकुमार नेपाल, अध्यक्ष, नेकपा (एस)
माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । उनले नेपालको  राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताउँदै राजतन्त्रलाई फेरि शीर उठाउने दुस्साहस नगर्न चेतावनी दिए । अध्यक्ष नेपालले पूर्वराजाले पनि पार्टी खोलेर  राजनीतिमा आउन वा व्यापार  गरेर बस्न सुझाव दिए । अध्यक्ष नेपालले भने, ‘म संकेत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । त्यसो हुनाले म सावधान भन्न चाहन्छु । प्रतिगमन तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउले दुस्साहस गर्ने काम नगर्नुस् । अब नदीको प्रवाह अघि बढिसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन । त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन ।  त्यस्तो दुस्साहस कसैले नगरुन् । नेपाली जनता फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म विस्फोटको रुपमा अघि बढ्नेछन् । राम्रो के हुन्छ भने पूर्वराजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली जनताले गर्न सक्दछौँ ।’

उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी
राजनीतिक दलहरुले विगतमा गरेका राजनीतिक कमजोरी हटाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।  नेपाली कांग्रेसको १४ महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘विगतमा भए, गरेका कमीकमजोरीहरू हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योल अन्त्य गर्नुपर्छ ।’ संवैधानिक अंगहरूलाई क्रियाशील र निष्पक्ष बनाएर मुलुक अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ‘संवैधानिक निकायहरूलाई अझ सक्षम, निष्पक्ष, क्रियाशील र प्रभावकारी गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि कांग्रेसको यो महाधिवशेन सार्थक सिद्ध होस्,’ उनले भने । ‘शासकीय पद्धतिलाई व्यवहारमा नै समावेशी र संघीय लोकतन्त्रात्मक बनाएर मात्रै राज्यका सबै निकायहरुलाई जनताको सेवामा समर्पित हुने संस्कृति हुर्काउन सकिन्छ । नेपाली जनतामा व्यप्त रहेका असमानता, गरिबी, बेरोजगारी र अशिक्षालाई अन्त्य गर्दै,’ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।  राज्यमा सुशासन र आर्थिक विकास गर्नका लागि सबै समुदायलाई राज्यका मूल धारमा ल्याउनुपर्ने यादवको भनाइ थियो । उनले संविधान संशोधन र
परिमार्जन हुनुपर्ने, निर्वाचन र शासकीय प्रणालीमा सुधार गर्नुपर्ने पनि बताए ।

महन्थ ठाकुर, अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी
मुद्दाको विषयमा सम्बोधन नभए तराईमा फेरि ज्वालामुखी विस्फोटन हुने बताएका छन् । उनले अहिले संविधानमा अहसमति रहेको सम्बोधन र आन्दोलनको क्रममा भएको सहमति कार्यान्वन नुहँदा त्यसले ज्वालामुखी विस्फोट हुने बताए । ठाकुरले आन्दोलनको क्रममा लागेको नेताहरुको मुद्दा फिर्ता नभएको र नेताहरु जेलमा रहेको भन्दै त्यसलाई सम्बोधन हुनुपर्ने बताए । ‘हाम्रो आन्दोलनलाई गोली र लाठीले दबाब खोजियो । त्यसक्रममा ठूलो जनधनको क्षति भयो । अहिले पनि हाम्रो नेताहरु जेलमा हुनुहुन्छ र माग पनि सम्बोधन भएको छैन । यसले ज्वालामुखीको रुपमा लिन सक्छ ।’ ठाकुरले भने । उनले पार्टीभित्र पनि स्थिरता आवश्यकता रहेको बताए । ‘राजनीतिक दलले सरकार बनाउने हाम्रो व्यवस्था भएकाले दलभित्र अस्थिरता हुँदा त्यसको प्रभाव  सरकारमा पनि पर्छ,’ उनले भने । अहिले तीनै अंगमा स्थिरता नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*