देउवा प्यानलबाट मकवानपुरे नेतृ डिना सहमहामन्त्रीको उम्मेदवार

साझाकुरा
२०७८ मंसिर २६, आईतवार १०:०९

काठमाडौं-नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मकवानपुरे नेतृ महालक्ष्मी डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार बनेकी छन् । उनी कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट महिलातर्फ सह– महामन्त्रीको उम्मेदवार बनेकी  हुन् । उनले देउवासँगै राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उनी २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी छन् ।  उम्मेदावरी दर्ता  गराएस“गै प्रतिक्रिया दि“दै डीनाले पार्टीलाई थप सदृढ र रुपान्तरण गर्दै अगाडि बढाउनेमा आफ्नो भूमिका रहने र त्यसैका लागि आफु सहमहामन्त्रीको उम्मेदवार बनेको बताइन् । उनका समर्थकहरुले अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मत माग्ने काम भइरहेको छ । काँग्रेस केन्द्रीय समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित १ सय ३४ जना चयन हुनेछन् । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् । नेतृत्व चयनका लागि सोमबार मतदान प्रक्रिया हुनेछ ।

कांग्रेस सभापतिमा शेरबहादुर देउवासहित ५ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार साँझ ५ बजेसम्म सभापतिमा ५ जनाले उम्मेदवारी दिएका हुन् । जसमा प्रकाशमान सिंह, डा.शेखर कोइराला, कल्याण गुरुङ, युवराज न्यौपाने र बिमलेन्द्र निधी रहेका छन् । देउवा र  कोइरालाले पदाधिकारीमा आफ्नो प्यानल बनाएका छन्  भने, प्रकाशमान र बिमलेन्द्रको पदाधिकारीका सबै पदमा आफ्नो प्यानल निर्माण हुन सकेन ।

यस्तो छ, डिनाको एजेन्डाहरु

डिनाले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गरेकी छन् । नेपाली कांग्रेसको सिद्धान्त र आर्दशलाई गन्तव्यमा पु¥याउने पहिलो प्राथमिकता रहेको उनको एजेन्डामा उल्लेख छ । नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारीलाई निर्णायक तहमा पु¥याउने उनको योजना छ ।  साथै उनले महिलालाई निर्णायक भूमिकामा पु¥याउने गरी नेतृत्वलाई दबाव दिन आफुले उम्मेदवारी दिने तयारी थालेको बताएकी छन् । राजनीति सुरुवात गर्दादेखि नै महिलाको आवाज बुलन्द पार्ने अभियानमा लागेकाले यो अभियानलाई अझ सशक्त बनाउन सहमहामन्त्री पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
डिनाको पृष्ठभूमी यस्ता छन्

नेपाली कांग्रेसको राजनीतिमा लागेकी डिना उपाध्याय विभिन्न कालखण्डमा जेल जीवनदेखि राज्यमन्त्रीसम्म बनेकी छन् । राजनीतिक पृष्ठभूमिकी डिनाका हजुरबुवा उदयनाथ अधिकारी  नेपाली कांग्रेस चितवनका संस्थापक सभापति थिए ।राजनीति गरेकै आधारमा अधिकारी पटकपटक जेलमा समेत परेका थिए । घरकै मुल व्यक्ति  राजनीतिमा लागेकाले अन्य सदस्यहरुलाई राजनीति बुझ्न त्यति असहज भने भएन ।  उदयनाथ जेलमा रहँदा उनको घरमा राजनीतिक बिषयमा नै चर्चा हुने गर्दथ्यो । डिना मात्र होइन उनका दाजुदिदीहरु पनि नेविसंघको सक्रिय राजनीतिमै थिए । जव डिना काठमाडौंको पद्मकन्या क्याम्पस भर्ना भइन् त्यो बेला नेपालमा पञ्चायत विरुद्धको आन्दोलन चलिरहेको थियो ।  नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व गरिरहेको थियो । उक्त आन्दोलनमा डिना पनि सकृय भएर लागेकी थिइन् । पञ्चायत शासनको अन्त्य  र प्रजातन्त्र पुनर्बहालीको आन्दोलनमा डिना सकृय भइन् । त्यसबाट राजनीति अझ नजिकबाट बुझ्ने अवसर मिलेको डिनाको भनाई छ । २०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहमा पनि अग्रपन्थिमा रहेर काम गरेको अनुभव उनीसँग छ । सत्याग्रहमा लागेका बेला उपाध्याय जेलमा समेत परेकी थिइन् । जेलमा रहँदा  गिरीजा प्रसाद कोइराला, नोना कोइराला, सुशिल कोइराला र शैलजा आचार्यलगायतका नेताहरुसँग उनको भेट भएको थियो ।

जेलमै रहँदा महिलाका हिंसा र महिलामाथि हुने विभेदबारे नजिकबाट बुझ्ने अवसर मिलेको उनले बताएकी छन् । उनमा महिलाका सवालमा काम गर्ने हुटहुटी त्यही बाट सुरु भयो । सत्याग्रको समयमा जेल पर्ने डिना परिवारकी एक्ली सदस्य भने थिइनन् । फरकफरक स्थानमा उपाध्यायका हजुरबुवा, हजुरआमा, मामासमेत गरी १२ जना आफन्त जेलमा  रहेका थिए । जेलबाट बाहिर निस्किएपछि उनी फेरी राजनीतिमै सकृय भइन् । जेलमा छँदा शैलजा आचार्यको स्कुलिङ र गिरीजाप्रसाद कोइरालालगायतका नेताहरुको विचारबाट प्रभावित उनी अझ जिम्मेवार ढंगले अघि बढिन् । फलतः २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित भइन् ।

बहुदलसँगै दलीय राजनीतिको विकास र पार्टीका  संरचनाहरु निर्माण हुन थाले । कांग्रेसको गाविस, नगरपालिका, क्षेत्रिय समिति सबै गठन प्रकृया र विधानका सबै संरचनाहरुलाई संगठन गर्ने क्रममा मगंलादेवी सिंहले उनलाई नेपाल महिला संघ मकवानपुरको संस्थापक सभापति बनाएकी थिइन् । उनको  राजनीतिक यात्रा अगाडी बढ्दै गर्दा २०४८ साल र २०५१ सालमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट दुई पटकसम्म संसदीय निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिए पनि दुबै पटक उनी पराजित भइन् । निर्वाचनमा पराजित भएपनि उनी सकृय रुपमा राजनीतिमा लागिरहिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*