थाहा नगरले जित्यो अन्तरपालिका फुटबलको उपाधि
हेटौंडा-जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रथम अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई सडन डेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि कब्जा गरेको हो । हेटौंडा–४, स्थित हुप्राचौरमा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा थाहा विजयी भएको थियो ।
सडन डेथमा हेटौंडाका खेलाडीले प्रहार गरेको बल असफल गएपछि थाहा नगरपालिकाले २–१ गोल अन्तरले उपाधि चुमेको हो । त्यसअघि खेलको २७ औं मिनेटमा हेटौंडाले अनिश महर्जनको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा बिनोद घलानले गोल गर्दै २–० को अग्रता लिएको हेटौंडाले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन । खेलको ५६ औं मिनेटमा थाहाका लागि राजन गोलेले गोल गर्दै थाहालाई खेलामा फर्काए ।
अन्तिम समय ७७ औं मिनेटमा हेटौंडाका आाकाश कटुवालाबाट आत्मघाती गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । बिजेता बनेसँगै थाहा नगरपालिकाले उपाधिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्यो । भने, हेटौंडाले नगद एक लाख रुपैयाँ प्राप्त गर्यो । यस्तै प्रतियोगितामा हेटौंडाका फत्तेमान घले सर्वाेत्कृष्ट खेलाडी घोषितहुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै विधागत् रुपमा थाहा नगरपालिका राजन गोले उत्कृष्ट परवार्ड, हेटौंडाका गगन सिलवाल उत्कृष्ट डिफेन्डर, थाहाका विशाल स्याङ्तान उत्कृष्ट मिडफिल्डर, हेटौंडाका सफल तिमलसीना उत्कृष्ट गोलकिपर र थाहाका नरेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरुले जनही ३ हजार नगर, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिताका बिजेताहरुलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा–१४ का वडाअध्यक्ष दिपक खड्का, हेटौंडा–१० का वडाअध्यक्ष किताबसिंह लामा, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगायतले पुरस्कार प्रदान गरेका थिए ।