यातायात क्षेत्रको संरचनागत सुधार गर्न मुख्यमन्त्रीको निर्देशन
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले याताया क्षेत्रमा देखा परेका समस्या समाधानका निम्ति कदम अगाडि बढाएका छन् । पाण्डेले केही दिनअघि यातायात व्यवसायीहरुको गुनासो सुनेपछि समस्या समाधानको लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सार्वजनिक यातायात महासंघलाई उनले केही दिनभित्रै छलफल राखेर समस्या समाधानको निम्ति पहल गर्ने विश्वास दिलाएका थिए । मुख्यमन्त्री पाण्डेले यातायात व्यवसायीहरुलाई गरेको प्रतिबद्धता अनुसार शनिवार यातायात क्षेत्रका विषय विज्ञसँग छलफल अगाडि बढाएका हुन् । उनले छलफलबाट उत्पन्न समस्या समाधान गर्ने वाचा गरेका हुन् ।
छलफलमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले राज्यले जनतालाई पु¥याइरहेको सेवाको ऐनाका रुपमा जनताले बुझ्ने सवारी चालक अनुमती पत्र जारी गर्ने प्रणालीलाई व्यवस्थित बनाउन नीतिगत र संरचनागत सुधार गर्नका लागि योजनाहरु पेश गर्न निर्देशन दिएका थिए । प्रदेश सरकार मातहतका यातायात क्षेत्रसँग सम्बन्धित कार्यालयमा जिम्मेवारी लिएर बस्ने कर्मचारीहरुलाई समयको बदलावसँगै जनअपेक्षा बमोजिम यातायात क्षेत्रमा देखा परेका कमजोरीहरुलाई र सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिएका छन् । उनले जनतालाई सेवा प्रवाहमा सुधार गर्न चाल्ने कदममा असहयोग गर्ने कर्मचारीहरुलाई व्यवस्थापन गर्ने बताएका छन् । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले यातायात व्यवस्थामा अन्तर सरकारी समन्वय विषयमा कार्यपत्र समेत प्रस्तुत गरे । घिमिरेले सवारी चालक अनुमती पत्र, विद्युतीय सवारी दर्ता प्रणाली, इम्बोस्ड नम्बर प्लेट जडान, सवारी परीक्षण, सार्वजनिक सवारीमा कार्डबाट भाडा भुक्तानी प्रणाली व्यवस्थापनलगायत यातायात क्षेत्रसँग जोडिएका विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले संघीय सरकार र प्रदेश सरकारले हालको सवारी चालक अनुमती पत्र प्राप्त गर्नका लागि लिइने परीक्षा तथा परीक्षा पश्चात जारी हुने लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्ने विधिबारे चर्चा गरेका थिए । महानिर्देशक घिमिरेले सार्वजनिक सवारीमा कार्डबाट भाडा भुक्तानी प्रणालीलाई तुरुन्त लागू गर्न सकिने योजना प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारले यातायात क्षेत्रका विविध विषयहरुमा छलफल गरी सहज तथा प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न प्रणालीगत सुधारका लागि विषय विज्ञहरुसँग छलफल गरेको हो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मा, नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेल, यातायात व्यवस्था विभागका पूर्वमहा– निर्देशक वीरेन्द्र मिश्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेश शासकीय सुधार तथा समन्वय महाशाखाका प्रदेश सचिव स्किम श्रेष्ठ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोक कुमार साहलगायत यातायात व्यवस्था विभागका प्राविधिक विशेषज्ञहरुको सहभागितामा छलफल गरेका थिए ।