अन्तर प्रदेश समन्वय बैठक हेटौंडामा
हेटौंडा-बागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आइतबार अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा अन्तरक्रियाको उद्घाटन गरिएको छ । मुख्यमन्त्री पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै अन्तर प्रदेशको बैठक समयसमयमा बसे देशको आर्थिक पक्ष सुधारका साथै सामाजिक, औद्योगिक पक्ष र कर्मचारीका कामगर्ने शैलीमा पनि परिवर्तन हुने दाबीगरे ।
उनले प्रदेश सरकारको अधिकारमा केही स्थानमा संघीय सरकारका कारण विवादित रहेकोले विभिन्न आयोजना प्रदेश सरकार मातहत गरिए विकास निर्माणमा नेपालले फड्को मारिने दाबी गरे । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास प्रधानले बागमती प्रदेश सरकारले संघीयताको कार्यान्वयको अभ्यास गर्दै कार्यक्रमको आयोजना गरेको भन्दै देशमा सुशासन कायम गर्न सबै कर्मचारीले सेवा प्रभावकारी ढंगले गरी काम गर्ने शैली, विचार र प्रविधिमैत्री भइ गम्भीर रुपमा काम सम्पादन गर्न सबैमा आग्रह गरे ।
उनले अबको मुख्यमुद्दा नै देशको आर्थिक र सामाजिक रुपमा वृद्धि गरी देशलाई सुशासनमा राख्ने रहेको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाका सचिव यमलाल भुसालले तीन दिन हुने अन्तर प्रदेश बैठकमा प्रदेशको सुशासन प्रणाली, प्रदेश अन्तरगतका सेवा प्रवाह, विपद् व्यवस्थापन, कर्मचारी समायोजन, शासकीय प्रवद्र्धन, स्थानीय तहसँगको सम्बन्धलगायत विषयमा छलफल गरिने बताए ।
केन्द्रीय सरकारका मुख्यसचिवसँगको अन्तरसम्वाद, अनुभव साटासाट गरी एक्येबद्धता जारी गरी सातै प्रदेशलाई आर्थिक, सामाजिक, सुशासन क्षेत्रमा साझा एजेण्डा बनाई काम गरिने उनको भनाइ थियो ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल, सातै प्रदेशका प्रमुख सचिवहरु, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, प्रदेशका सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।