हेटौंडा भेट्रान्स (बी)को विजयी सुरुवात
हेटौंडा÷सोमबारबाट सातौं हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ ।हेटौंडा भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगिता हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका हुन् । पुस ३ गतेसम्म जारी रहने प्रतियोगितामा १८ भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० वर्ष माथिका उमेर समूहका पुर्व राष्ट्रिय खेलाडीहरु सहितको सहभागिता रहेको कार्यक्रम संयोजक मणिराज गौतमले जानकारी दिए । सोमबार भएको उद्घाटन खेलमा आयोजक हेटौंडा भेट्रान्स (बी)ले विजयी सुरुवात गरेको छ ।
सोमबार सिमरा भेट्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै हेटौंडा भेट्रान्स (बी)ले जित हात पारेको हो । खेलको निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइब्रेकरमा हेटौंडा भेट्रान्स क्लब (बी)ले ३–२ गोल अन्तरले जित्न सफल भएको हो । खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका सरोज राजथला घोषित भएका छन् । सोमबारको खेलमा चितवन राष्ट्रिय भेट्रान्सले वाइ पाएको छ । हाम्रो वीरगञ्ज क्लब सहभागि नभएपछि चितवनले वाइ पाएको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ शिल्ड, दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैयासहित शिल्ड प्राप्त गर्ने हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्यले जानकारी दिए । खेलमा उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिनछ ।
हेटौंडा ५ क्याम्पाचौरमा रहेको खेलमैदानमा भएको प्रतियोगितामा आज मंगलबार पाँच वटा खेल हुने जनाइएको छ । मंगलबार पहिलो खेल सानो गौचरण नाइट किंग र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच, दोस्रो खेल एबिसी पोखरा र कालभैरव क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ । त्यस्तै नागस्वती भेट्रान्स हेटौंडा र वीरगञ्ज युथ क्लबबीच हुनेछ भने बौद्ध भेट्रान्स काठमाडौं र बानेश्वर फुटबल क्लब काठमाडौंबीच हुनेछ । त्यस्तै, पाँचौं खेल अभिषेक चर्च नवलपरासी र जोरपाटी काठमाडौंबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।