कांग्रेस सभापतिमा देउवालाई नेता सिंहको समर्थन

साझाकुरा
२०७८ मंसिर २८, मंगलवार १२:५४

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गर्ने भउका छन् । आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उहाँहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिए। उनले भने, “अगामी दिनमा पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र पार्टीमा देखिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ ।”

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुन लागेको हो ।  महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ ।

मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।(रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*