‘मेरो नाममा जिन्दावाद नभन्नूस्’

मुख्यमन्त्री पाण्डेको अनुरोध
साझाकुरा
२०७८ मंसिर २९, बुधबार ११:३६

हेटौंडा=-नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नाम लिएर कहिँ–कतै कुनैपनि अवस्था जिन्दावाद नभन्न पार्टीका कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले मनहरी गाउँपालिका–९ ज्यामिरेमा वडा सम्मेलनलाई सम्बोधन गर्दै बाम एकताको नाटक गरेर आर्जित शक्ति प्रयोग गरी राजतन्त्र झै शासन गर्ने र आफूलाई राजाको रुपमा अघि सारिएपछि ओलीको ओरालो बाटो सुरु भएको बताए ।

‘एमालेका कार्यक्रममा ओलीबाहेक अरु अग्रज कम्युनिष्ट नेताको फोटोहरु नराख्ने, ओली जिन्दावाद’ भनेर नारा उराल्ने कामहरुले राजतन्त्र सम्झाएको उनको भनाइ थियो ।उनले भने, ‘म कार्यक्रममा आउँदै गर्दा मलाई माला लगाएर तपाईहरुले पनि राजेन्द्र पाण्डे जिन्दावादको नारा लगाउनु भयो भने, त्यो गलत हो त्यस्तो कदापी नगर्नुहोला ।’ आफूले राम्रो काम गर्न सके सँधै जिन्दावाद नै भइरहने भन्दै उनले ओली प्रबृत्ति समाजवादी पार्टीमा देखाउन नहुने बताए ।  केपी ओलीले राजतन्त्रको झल्को दिनेगरी पार्टी र सरकार सञ्चालन गर्न थालेपछि बिद्रोह  गरिएको दाबी गरे । उनले गिरीबन्धु काण्डलगायत थुप्रै घटनामा अर्बाैं भ्रष्टाचार गरेर ओली नेतृत्वको  सरकारले आम बामपन्थी समर्थक र मतदाताहरुलाई धोका दिएको
आरोप लगाए । चुनाव चिन्हको प्रशंग कोट्याउँदै मुख्यमन्त्री पाण्डेले आफू पन्चायतकालमा हात्ती चुनाव चिन्हमा चुनाव लडेको र अत्यधिक मत ल्याएको स्मरण गराए ।

उनले आफु अन्य चुनाव चिन्हहरुमा पनि बिजय भएको उदाहरण प्रस्तुत गर्दै उनले सूर्य चुनाव चिन्ह देखाएर केही समय मानिसहरुलाई भ्रममा पार्ने काम एमालेले गरिरहेकाले त्यस्तो भ्रममा नपर्न कार्यकर्तालाई अनुरोध गरे । मुख्यमन्त्री पाण्डेले खानेपानी पहिलो प्राथमिकतामा राखी आफूले काम गरिरहेको र सिंचाईं, बाटोघाटो लगायतका पूर्वाधार विकासका लागि प्रदेश सरकारले तत्कालै लगानी गर्ने भएकाले त्यस्ता योजनाहरु ल्याउनका लागि जनसमुदायमा आग्रह गरे । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एबम् संविधानसभा सदस्य राजाराम स्याङ्तानले सामाजिक हिसाबले निस्वार्थ भएर काम गर्ने व्यक्तिहरु लोकप्रिय  भएर चुनाव जित्ने उदाहरणहरु प्रशस्तै रहेको बताए । उनले आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा लहर आउने दाबीसमेत गरे ।

कार्यक्रममा जिल्ला सचिव बिष्णुप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्य एबम् मनहरी इन्चार्ज भूमिनन्द अर्याल, जिल्ला सचिवालय सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, जिल्ला सचिवालय सदस्य कृष्ण चेपाङ, युवा संघ नेपाल मनहरी गाउँ कमिटी अध्यक्ष कृष्णचन्द्र पुरी, जिल्ला सदस्य अप्सरा ढुंगानालगायतले शुभकामना ब्यक्त गरेका थिए । जिल्ला सदस्य एबम् ९ नं वडाध्यक्ष साधुराम अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको  हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*