माओवादी केन्द्र विशेष प्रदेश कमिटी उपाध्यक्षमा पाण्डे

साझाकुरा
२०७८ पुष १, बिहीबार १०:४८

हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा प्रमुखसमेत रहेका मकवानपुरका प्रकाशचन्द्र पाण्डे (प्रलोक) माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्ष पदमा चयन भएका छन् ।  माओवादी केन्द्रको पार्टी संगठनात्मक संरचनाअनुसार ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशहरुको एकै साथ गत मंसिर २५ गते शनिबार अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटनसमेत गरेका थिए ।  माओवादी केन्द्रको ९ प्रदेश मध्येको उपत्यका विशेष प्रदेशको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित नेता पाण्डे जनमुक्ति
सेना नेपालका बटालियन कमान्डर थिए ।

नेता पाण्डे पार्टी हेडक्वाटर र अध्यक्ष प्रचण्डका  सुरक्षाका जिम्मेवारीमा अब्बल सावित भएका कारण उपत्यका विशेष प्रदेशलाई पनि कुशलतापूर्वक नेतृत्व प्रदान गर्न सक्षम रहने भएकोले चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । पाण्डे हाल वाईसीएल नेपाल बागमती प्रदेश समितिको इन्चार्जसमेत हुन् ।  माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलनले अध्यक्षमा जगत सिम्खडा, उपाध्यक्षमा कृष्ण के.सी., प्रकाशचन्द्र पाण्डे, संगिता खड्का, सचिवमा सुरेन्द्र बस्नेत, सह–सचिवमा गोगन बहादुर मल्ल, विष्णु थापा, कोषाध्यक्षमा शंकर अधिकारीसहित १ सय ४१ सदस्यीय प्रदेश  समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*