विरुद्धमा उत्रिने पाण्डे पनि उस्तै

साझाकुरा
२०७८ पुष १, बिहीबार १०:५१

‘आफ्नो आङ्को भैंसी नदेख्ने, अर्काको आङ्को जुम्रा देख्ने’ भने झैं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो आङ्को भैंसी देखेनन् तर, डोरमणि पौडेल मुख्यमन्त्री हुँदा उनको आङ्को जुम्रा देखेका थिए । त्यसकारण पनि तत्कालीन अवस्थामा पौडेल मुख्यमन्त्री हुँदा बखत पाण्डेले संसदमा हरेक विषयमा आफ्नै पार्टीको मुख्यमन्त्रीको विरोध गर्दथे । अहिले पाण्डे र पौडेल फरक पार्टीमा छन् । पाण्डे मुख्यमन्त्री छन् । उनले बागमतीमा जम्बो मन्त्रिपरिषद् निर्माण गरेका छन् । जबकी उनी संसदमा मन्त्रिपरिषद्को विरुद्धमा पनि उत्रिन्थे । बागमती सरकार गठनको ४४ महिनापछि गठबन्धनमा निर्माण पाण्डे नेतृत्वको सरकारले बागमतीमा जम्बो मन्त्रिपरिषद् बनाएको हो ।

यसअघि तत्कालीन नेकपा र नेकपा एमाले नेतृत्वको  सरकार रहँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालयबाट सत्ता संचालन भइरहेको थियो । ११ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको सरकार निर्माणपछि बागमतीमा १५ मंसिरको मन्त्रिपरिषद् बैठकले आठ वटा मन्त्रालय फुटाएर १४ वटा बनाउने निर्णय गरेसँगै मन्त्रिपरिषद् जम्बो बनेको छ । सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, काँग्रेस र नेकपा एसमा भागबन्डा मिलाउन दलहरुको सहमतिमा मन्त्रालय फटाइएको हो । ११ कात्तिकमा आफु मुख्यमन्त्री बनेसँगै पहिलो चरणमा पाण्डेले काँग्रेस, माओवादी केन्द्र र नेकपा एसबाट एक÷एक जनालाई मन्त्री नियुक्त
गरेका थिए । सत्तारुढ गठबन्धन रहेका दलमध्ये फुटाइएको मन्त्रालयमा मंगलबार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री र राज्यमन्त्री नियुक्त गरिएको छ । माओवादी केन्द्रबाट तीन मन्त्री, एक राज्यमन्त्री र नेकपा एसबाट दुई जना मन्त्री नियुक्त भएका हुन् ।

पाण्डेले मन्त्री र राज्यमन्त्री नियुक्त गरेसँगै मंगलबारनै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराएका छन् । माओवादीका घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, नेकपा एसका बसन्तकुमार मानन्धर खानेपानी उर्जा तथा सिंचाई, नेकपा एसका बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छी, माओवादी केन्द्रका बिशाल खड्का वन तथा वातावरण, माओवादी केन्द्रका रत्नप्रसाद ढकाल युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् भने, नेकपा एसकी इन्द्रमाया गुरुङ कृषि तथा पशुपन्छी राज्यमन्त्री बनेकी  छन् । उनलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*