कांग्रेसको केन्द्रमा डिनाको छलाङ सहमहामन्त्रीमा अत्याधिक मतसहित विजयी

साझाकुरा
२०७८ पुष २, शुक्रबार ०७:३९

हेटौंडा-नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा मकवानपुरे नेत्री महालक्ष्मी उपाध्याय डिनाले छलाङ मारेकी छन् । उनले इतिहास रच्दै कांग्रेसको केन्द्रीय समितिमा महिला सहमहामन्त्रीमा जित हासिल गरेकी छन् । उनको जीवनमा यसलाई ऐतिहासिक राजनीतिक छलाङको रुपमा मान्न सकिन्छ । बिहीबार राती सकिएको ममतगणनाको परिणाम अनुसार उनले आफ्नो प्रतिस्पर्धी कमला पन्तलाई ४ सय २८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् । पदाधिकारीमा महिलाको उपस्थिति कमजोर रहेको भन्दै उनले भोलिका दिनमा निर्णायक तहमा महिला सहभागिता बढाउन पहल गर्ने जिकिर गरिन् । नवनिर्वाचित सहमहामन्त्री उपाध्यायले भनिन्, ‘भोलिका दिनमा म कोटामा उम्मेदवारी दिन्नँ, खुलामा नै जान्छु ।’

यस्तो छ, डिनाको
राजनीतिक जीवन
नेपाली कांग्रेसको राजनीतिमा लागेकी डिना उपाध्याय विभिन्न कालखण्डमा जेल जीवनदेखि  राज्यमन्त्रीसम्म बनेकी छन् । राजनीतिक पृष्ठभूमिकी डिनाका हजुरबुवा उदयनाथ अधिकारी नेपाली कांग्रेस चितवनका संस्थापक सभापति थिए । राजनीति गरेकै आधारमा अधिकारी पटकपटक जेलमा समेत परेका थिए । घरकै मुल व्यक्ति   राजनीतिमा लागेकाले अन्य सदस्यहरुलाई राजनीति बुझ्न त्यति असहज भने भएन । उदयनाथ जेलमा रहँदा उनको घरमा राजनीतिक बिषयमा नै चर्चा हुने गर्दथ्यो । डिना मात्र होइन उनका दाजुदिदीहरु पनि नेविसंघको सक्रिय राजनीतिमै थिए । जव डिना काठमाडौंको पद्मकन्या क्याम्पस भर्ना भइन् त्यो बेला नेपालमा पञ्चायत विरुद्धको आन्दोलन चलिरहेको थियो । पञ्चायत शासनको अन्त्य र प्रजातन्त्र पुनर्बहालीको आन्दोलनमा डिना सकृय भइन् । त्यसबाट राजनीति अझ नजिकबाट बुझ्ने अवसर मिलेको डिनाको भनाई छ । २०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहमा पनि अग्रपन्थिमा रहेर काम गरेको अनुभव उनीसँग छ । सत्याग्रहमा लागेका बेला उपाध्याय जेलमा समेत परेकी थिइन् । जेलमा रहँदा गिरीजा प्रसाद कोइराला, नोना  कोइराला, सुशिल कोइराला र शैलजा आचार्यलगायतका नेताहरुसँग उनको भेट भएको थियो ।

जेलमै रहँदा महिलाका हिंसा र महिलामाथि हुने विभेदबारे नजिकबाट बुझ्ने अवसर मिलेको उनले बताएकी छन् । उनमा महिलाका सवालमा काम गर्ने हुटहुटी त्यही बाट सुरु भयो । सत्याग्रको समयमा जेल पर्ने डिना परिवारकी एक्ली सदस्य भने थिइनन् । फरकफरक स्थानमा उपाध्यायका हजुरबुवा, हजुरआमा, मामासमेत गरी १२ जना आफन्त जेलमा रहेका थिए । जेलबाट बाहिर निस्किएपछि उनी फेरी राजनीतिमै सकृय भइन् । जेलमा छँदा शैलजा आचार्यको स्कुलिङ र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरुको विचारबाट प्रभावित उनी अझ जिम्मेवार ढंगले अघि बढिन् । फलतः २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित भइन् ।

बहुदलसँगै दलीय  राजनीतिको विकास र पार्टीका संरचनाहरु निर्माण हुन थाले । कांग्रेसको गाविस, नगरपालिका, क्षेत्रिय समिति सबै गठन प्रकृया र विधानका सबै संरचनाहरुलाई संगठन गर्ने क्रममा मगंलादेवी सिंहले उनलाई नेपाल महिला संघ मकवानपुरको संस्थापक सभापति बनाएकी थिइन् । उनको राजनीतिक यात्रा अगाडी बढ्दै गर्दा २०४८ साल र २०५१ सालमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट दुई पटकसम्म संसदीय निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिए पनि दुबै पटक उनी पराजित भइन् । निर्वाचनमा पराजित भएपनि उनी सकृय रुपमा राजनीतिमा लागिरहिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*