नागस्वतीलाई हराउँदै एबिसीले जित्यो राष्ट्रिय भेट्रान्स
हेटौंडा-घरेलु टोलीलाई हराउँदै पोखराको एबिसी भेट्रान्स क्लबले हेटौंडामा जारी सातौं भेट्रान्स कपको उपाधि उचालेको छ । घरेलु मैदानमा एबिसीले नागस्वती भेट्रान्सलाई २–१ गोल अन्तरले निरीह बनाएको हो । खेलमा राम्रो फिनिसिङ देखाएपनि नागस्वतीले नतिजा भने निकाल्न सकेन् । हेटौंडा–५ क्याम्पाडाँडा स्थित निर्माणाधिन रंगशालामा भएको फाइनल खेलमा एबिसीका हरि खड्काले खेलको ७ औं मिनेटमा गोल गरे ।
एक गोलले पछाडि परेको अवस्थामा नागस्वतीले गोल खाएको १० औं मिनेटमै खेल बराबरीमा ल्याउन सफल भयो । नागस्वतीका नरेन लिम्बुले खेलको १७ औं मिनेटमा करिब २५ यार्ड परबाट गरेको प्रहारले जाली चुम्न पुग्यो ।
घरेलु मैदानमा दर्शकको साथ पाएपनि नागस्वतीले गोल गर्ने अवसर थुप्रै खेर फाल्यो । नागस्वतीका निमा लामा आधा दर्जन पटक डिबक्क नजिकबाट गोल गर्ने अबसरबाट चुके । प्रतियोगिता भर सर्वाधिक गोल गरेका लामाले फाइनल खेलमा भने गोल गर्न सकेनन् । उनलाई एबिसीका डिफेन्डरले निरन्तर मार्क गरेपछि सहजै चल्न पाएनन् । नागस्वतीको डिफेन्स लाइनको कमजोरीको फाइदा उठाउँदै एबिसीका नरेन्द्र जंग गुरुङले खेलको २७ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे ।
एबिसीले शुक्रबार भएको सेमीफाइनलमा काठमाडौंको बानेश्वर भेट्रान्सलाई ४–० गोलको फराकिलो अन्तरले निरीह बनाएको थियो । नागस्वती भेट्रान्सले बगर भाइखलक ‘ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । भेट्रान्स कपको विजेता एबिसीले मकवानपुरको पहिचान काठको ठेकी आकृतिमा कुँदिएको शिल्डसहित नगद एकलाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ । उपविजेतामा चित्त बुझाएको नागस्वतीले ५० हजार ५ सय ५५ रुपैयाँमा नगदसहित शिल्ड हात पा¥यो ।
खेलको सर्वोत्कृष्ट खेलाडी एबिसीका विश्वराज श्रेष्ठ घोषित भएका छन् । प्रतियोगिताको विद्यागत पुरस्कारतर्फ उत्कृष्ट फर्वाड नागस्वतीका निमा लामा, डिफेन्डर एबिसीका मिलन राई, गोलरक्षक एबिसीका सुर्य शर्मा, मिडफिल्डर मेहेन्द्र गुरुङ र प्रशिक्षक एबिसीकै सुरज गुरुङ घोषित भए । उनीहरुले जनही नगद पाँच हजारसहित शिल्ड पाए । फाइनल खेलको म्यान अफ दी म्याच एबिसीका गोलकर्ता गुरुङ चुनिएका छन् ।
प्रतियोगिताको विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए । फाइनलको अबसर पारेर पिप्ले युवा क्लबका अध्यक्ष तथा क्याम्पा रंगशाला निर्माणका अगुवा सुशील घिमिरेलाई सम्मान गरिएको छ ।
कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा नम्बर ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाईं, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलको कार्यक्रम संयोजक मणिराज गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा १९ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगीतामा ४० वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने थियो । सानो गौचरण नाइट किंग, बिहानी क्लब फरेष्ट्री हेटौंडा, कालभैरव क्लब हेटौंडा, वीरगञ्ज युथ भेट्रान्स क्लब, बौद्ध भेट्रान्स काठमाडौं, बानेश्वर फुटबल क्लब, अभिषेक चर्च नवलपरासी, जोरपाटी काठमाडौं, हेटौंडा भेट्रान्स (बि) र सिमरा भेट्रान्सलगायतका क्लबहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।