विकट राक्सिराङमा स्वास्थ्य केन्द्र

साझाकुरा
२०७८ पुष ५, सोमबार ०९:४८

हेटौंडा-मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।विगतमा स्वास्थ्य क्षेत्रको पहुँचबाट टाढा रहेको राक्सिराङमा स्थानीय तह आएपछि गाउँगाउँमा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले गाउँमै आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गर्न घरघरमै स्वास्थ्य जाँच गर्नेदेखि स्वास्थ्य सेवा केन्द्र स्थापनामा जोड दिएको छ । राक्सिराङमा गतवर्ष मात्रै हस्पिटल निर्माण सुरु गरिएको थियो । विगतमा यहाँका बासिन्दालाई उपचारका लागि मनहरी वा हेटौंडा आउनुपर्ने बाध्यता थियो । राक्सिराङमा सामान्य उपचारको व्यवस्थापनि नहुँदा स्थानीय चिन्तित थिए ।

अब भने गाउँबासीलाई स्वास्थ्य उपचारका लागि समस्या हट्दै गएको छ । चेपाङ र तामाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् । नयाँ भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्न अब सहज हुने अध्यक्ष मल्ले विश्वास व्यक्त गरे । राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । जसमध्ये ८ नम्बर वडासहित ९ र ३ नम्बर वडामा भवन निर्माण सम्पन्न भइसकेको छ ।

बाँकी ४ वटा वडामा पनि स्वास्थ्य केन्द्रको भवन निर्माण अन्तिम चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । अध्यक्ष मल्लले आफूहरु जनप्रतिनिधि भएर आइसकेपछि गाउँमा स्वास्थ्यको क्षेत्रमा धेरै सुधार गरेको दावी गरेका छन् । ‘सिटामोलसमेत नपाउने अवस्था थियो गाउँमा, कोही सुत्केरी ब्यथाले च्यापेर त कोही सामान्य चोट लागेका बिरामीको पनि ज्यान जाने अवस्था थियो ।’ मल्लले भने ।

गाउँपालिकाका ९ वटा वडामा हाल १० वटा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । जसमध्ये ४ वटा केन्द्रमा सुत्केरी सेवासमेत सञ्चालनमा छ । चैनपुरमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १० बेडको अस्पताल सञ्चालन अन्तिम चरणमा छ । गाउँपालिकाको केन्द्र चैनपुरमा डाक्टरको सेवासमेत उपलब्ध भइसकेको छ । गाउँपालिकामा  करिब सवा दुइ करोडको लागतमा पक्की स्वास्थ्य संरचना निर्माण भएको छ ।

गत वर्ष ठेक्का लागेर निर्माण सुरु भएका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवनमध्ये केहीको निर्माण सम्पन्न भइसकेको छ भने केहीको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले राक्सिराङका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि प्रति भवन ३८ लाख रुपैयाँका दरले २ करोड २८ लाख रुपैयाँ छुट्याएको थियो राक्सिराङ–८ का वडाध्यक्ष रामकृष्ण प्रजाको अध्यक्षतामा भएको देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी भवन उद्घाटन कार्यक्रमलाई भव्य नबनाइएको भन्दै नेपाल चेपाङ संघ राक्सिराङ गाउँपालिका ८ नं वडा इकाई समितिले असन्तुष्टि जनाएको छ । कार्यक्रममा सरोकारवाला संघसंस्था तथा निकायहरु र राजनीतिक दलहरुलाई समेत जानकारी नगराएको भन्दै संघका अध्यक्ष महेशकुमार प्रजाले आपत्ति जनाए । कतिपय सर्बसाधारण मानिसहरुले उक्त भवन के हो ? भन्नेबारे समेत थाहा नपाएको अबस्थामा उद्घाटन गर्नुपर्ने धारणा प्रजाको छ । सीमित मानिसहरुलाई मात्रै बोलाएर भवन उद्घाटन गरिएको भन्दै असतुष्टि जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*