कांग्रेस मकवानपुरको अधिवेशन पुस अन्तिममा

साझाकुरा
२०७८ पुष १३, मंगलवार ११:०८

हेटौंडा-नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस अन्तिम साता हुने भएको छ ।  मकवानपुर जिल्ला समितिले एक महिनाअघि केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्नेगरी मिति सारेको थियो । महाधिवेशनपछि बाँकी  रहेका मकवानपुरसहित १६ जिल्लामा एकै दिन अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले मिति तय गरेको हो । मकवानपुरको हकमा पनि निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै पुस २७ मा अधिवेशन र निर्वाचन प्रक्रिया सम्पन्न गर्न सूचित गरेको छ । केन्द्रीय महाधिवेशनपछि मकवानपुरसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपरासी जिल्लाको अधिवेशन गर्न बाँकी छ ।

मकवानपुरको हकमा मंसिर १६–१८ सम्म हेटौंडामै बागमती प्रदेशको अधिवेशन हुने भएपछि एकैपटक जिल्ला अधिवेशन र प्रदेश अधिवेशन आयोजनामा समस्या हुने भन्दै जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय  गरेर जिल्ला अधिवेशन स्थगित गरिएको थियो । महाधिवेशन सकिँदासमेत घोषणा गरेकाले मकवानपुरसहित बाँकी १६ जिल्लामा एकै दिन अधिवेशन गर्नेगरी मिति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।

मकवानपुरको वडा, गाउँ÷नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रमा महाधिवेशन अघिनै निर्वाचन प्रक्रियामार्फत कार्यसमिति चयन भइसकेको छ । अब जिल्ला कार्यसमिति मात्र चयन गरिने हुँदा पुसभित्र अधिवेशन गर्न समस्या नहुने जनाइएको छ । केन्द्रले तोकेकै मितिमा जिल्लामा अधिवेशन हुने कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले बताए । उनका अनुसार केन्द्रबाट २ दिनभित्र निर्वाचन समिति पठाउने र त्यसपछि अधिवेशनको तयारी अघि बढाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*