हिउँले सेताम्मे सिमभञ्ज्याङ–दामन
हेटौंडा-मकवानपुरको पर्यटकीय क्षेत्र दामन–सीमभञ्ज्याङमा बुधबार बिहानैदेखि परेको हिमपात, वर्षा र कुहिरोको लुकामारी चलिरहेको छ । आकाश कुहिरोले ढाकेको छ । त्यही कुहिरोमुनि सेताम्मे हिउँमा रमाउन सौन्दर्य प्रेमीहरुको भने धुइरो लाग्न थालेको छ । दिनमा हिउँ परेकोले सौन्दर्य प्रेमीहरुले ताजाताजा हिउँ खेल्ने अवसर पाएका छन् । ‘दामन–सीमभञ्ज्याङको मनमोहक दृश्यसँगै हिउँ खेल्नुको मजा नै बेग्लै’ भन्दै स्थानीय युवाहरु वर्षाको परवाह नगरी दामनतर्फ हुइँकिरहेका छन् । थाहानगरको बेँसीभागमा वर्षामात्र भएको र वरपरका डाँडामा हिउँ परेर सेताम्मे भएको देखेपछि स्थानीयहरुको मन लोभिएको छ । अन्य डाँडाहरुमा पनि हिउँ परेको भए पनि दामन–सीमभञ्जयाङ क्षेत्रमा पुग्न तथा खाजानास्ताको लागि समेत सहज हुने भएकोले स्थानीयहरु पनि दामन–सीमभञ्ज्याङतर्फ नै जाने गर्दछन् ।
अघिल्ला वर्षहरुमा दामन क्षेत्रमा हिमपात हुँदा काठमाण्डौँ क्षेत्रका पर्यटकहरु धेरै आउने गरेको भए पनि यस वर्ष काठमाण्डौँ वरपरकै डाँडामा र विशेषगरी चन्द्रागिरीमा हिउँ परेकोले दुरीका हिसाबले उनीहरु दामन आइपुग्ने सम्भावना कम छ । तर हेटौँडा र तराई क्षेत्रका पर्यटकहरु भने सीमभञ्ज्याङसम्म आउन थालिसकेको स्थानीय जीतबहादुर थोकरले जानकारी दिए । १४ पुसमा बिहानैदेखि परेको हिमपातका कारण त्रिभुवन राजपथको सुनगाभा होटल क्षेत्रदेखि अघोरसम्मको झण्डै १५ किलोमिटर खण्ड हिउँले छोपिएको छ । सडकमा जमेको हिउँमाथि सवारी चलाउनु जोखिमपूर्ण हुने भएकोले पर्यटकहरु हिउँ क्षेत्रको सीमामा सवारी राखेर पैदल हिँड्दै हिउँ खेल्ने गरेका छन् ।
हिउँपारखी पर्यटकहरुको खाने–बस्ने ‘प्लान’ बनेमा दामन–सीमभञ्ज्याङ क्षेत्रमा झण्डै दुई दर्जन सानाठूला सुविधायुक्त होटलहरु रहेका छन् । हिउँ खेल्न आएका पर्यटकहरुलाई ‘आतिथ्यता’ महशुस हुनेगरी सेवा प्रदान गर्न थाहा होटल एशोसियसनका अध्यक्ष शिवकुमार खत्रीले आह्वान
गरेका छन् ।