बागमतीमा कृषकको वर्गीकरण गरिने
हेटौंडा-बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयले प्रदेशभित्रका कृषकहरुको तीन तहमा वर्गीकरण गर्ने भएको छ । मन्त्रालयले कृषकको लगानी, उत्पादन क्षमता र आम्दानीलाई दृष्टिगत गरी वर्गीकरण गर्ने तयारी गरेको हो । मन्त्रालयका सचिव डा.शरणकुमा पाण्डेका अनुसार प्रदेशका कृषकहरुलाई व्यवसायिक (हरियो जोन), अर्ध व्यवसायिक (पहेँलो जोन) र निर्वाधमुखी (रातो जाने)मा वर्गीकरण गर्न लागिएको हो । मन्त्रालयले बुधवार ५१ बुँदे मार्गचित्र सार्वजनिक गर्दै कृषकहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई माग र आवश्यकता अनुसार कार्यान्वयनमा लान खोजेको छ ।
यसअघि बागमती प्रदेशमा कृषकहरुको वर्गीकरण गरिएको थिएन् । कृषि तथा पशुपंक्षी मन्त्री भएर आएको १६ दिनमा बसुन्धरा हुमागाईंले मार्गचित्र कोरेका हुन् । मन्त्रालयले ५१ बुँदे कृषि, पशुपंक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र–२०७८ सार्वजनिक गरेको हो । मार्गचित्रमा प्रदेशको कृषि तथा पशुपंक्षी क्षेत्रलाई कस्तो बाइने, कृषकहरुमा कार्यक्रम कार्यान्वयन कसरी गरिने र कृषि क्षेत्रको विकासको मोडललाई मन्त्रालय कसरी अघि बढाउने भन्ने मुलभूत विषय समेटिएका छन् । मन्त्री हुमागाईंले कृषकहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई माग र आवश्यकता अनुसार अगाडि बढाइने बताए । ‘म १३ वर्षदेखि किसानी काम गरेको मान्छे हुँ । अहिलेपनि मन्त्रीसँगै किसानी नै काम गर्दै आएको छु । कृषकहरुको अवस्था राम्रोसँग बुझेकाले वर्गीकरण गर्दै कृषि क्षेत्रको माग र आवश्यकतालाई निकालेर कार्यक्रम लैजान्छु ।,’ मन्त्री हुमागाईंले भने । मार्गचित्रमा कृषि, पशुपंक्षी तथा मत्स्य क्षेत्रको व्यवसायिकरण, विकास र रोजगारी सृजना गरी समग्र अर्थतन्त्रलाई गतिशिल र सुदृढ गर्न प्रदेश कृषि विकास ऐन बनाउने जनाइएको छ ।
मत्स्य क्षेत्रको उत्पादन, प्रशोधन र बजारीकरण गरी आर्थिक वृद्धि हासिल गर्न प्रदेश सरकारको छुट्टै मत्स्य प्रवद्र्धन नीति तर्जुमा गरिने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए । त्यस्तै, निजी तथा सहकारी क्षेत्रलाई दुध तथा दुग्धजन्य पदार्थको प्रशोधन तथा बजारीकरणमा आकर्षण गरिने पाण्डेले बताए । मार्गचित्रमा पशुपंक्षी, मत्स्य र कृषि क्षेत्रमा विभिन्न रोगहरुको कारणबाट हुने क्षतिलाई न्यूनीकरण गर्न रोक नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा लैजाने उल्लेख छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले यसअघि कृषि क्षेत्रको अनुदान लिएर दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउने तयारीपनि गरेको छ । मन्त्रालयले कृषि क्षेत्रको अनुदानमा भएका दुरुपयोगको अनुसन्धान गर्ने भएको हो । कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईंले कृषि अनुदान लिएर दुरुपयोग गरेका हरुलाई कानुनी दायराम ल्याउने जानकारी गराएका छन् । बागमतीमा कृषि अनुसन्धान प्रसार तथा तालिम केन्द्र स्थापना गरिने भएको छ ।