निरन्तर वर्षाका कारण जिल्ला स्तरीय भलिबल स्थगित

साझाकुरा
२०७८ पुष १५, बिहीबार ०९:५३

हेटौंडा-मकवानपुरगढी गाउँपालिकामा हुने भनिएको जिल्ला स्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता स्थगित भएको छ । बुधवार निरन्तर वर्षा भएपछि प्रतियोगिता स्थगित भएको हो । वर्षाले खेल सञ्चालन गर्न सक्ने स्थिति नभएपछि प्रतियोगिता नै स्थगित गर्नुपरेको कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले जानकारी दिए । आमभञ्ज्याङ युवा क्लबले मकवानपुरगढी–५, धादिङमा जिल्ला स्तरीय रनिङशिल्ड भलिवल गर्दैछ । मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा आमभञ्ज्याङ युवा क्लबले १४ पुसदेखि १७ गतेसम्म प्रतियोगिता गर्न खोजेको हो ।

तर, बुधवार बिहानैदेखि वर्षा परेपछि खेल हुन नसकेको सञ्जेलले बताए । वर्षा रोकिए आज बिहीवार उद्घाटन हुने क्लबका अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । क्लबले गत कार्तिक अन्तिममा थाहा नगरपालिकामा भएको जिल्ला स्तरीय भलिवलको उपाधि जितेपछि मकवानपुरगढीमा भलिबल गर्ने तयारी गरेको थियो । मकवानपुरगढीले २० वर्षपछि भलिवलको उपाधि जितेको थियो । सोही अबसरमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले मकवानपुरगढीमा जिल्ला स्तरीय भलिवल गर्ने घोषणा गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय ६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष राजेश अधिकारीले बताए । द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अधिकारीले बताएका छन् । प्रतियोगितामा तृतीय हुनेले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार  पुरस्कार दिने भएको छ । प्रतियोगितामा टिम दर्ता गर्न १३ पुसभित्र २ हजार दस्तुर लाग्ने जनाइएको छ । प्रतियोगितामा जिल्लाभित्रका १२ वटा टिमको सहभागिता रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*