एकभन्दा बढी सहकारीमा हुनेलाई कारबाही

नवीन तिमल्सिना
२०७८ पुष २०, मंगलवार १०:४९

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले ‘एक व्यक्ति, एक सहकारी’ नियमलाई कडाई गर्ने भएको छ । पालिकाभित्र सञ्चालित सहकारीमा एक व्यक्ति एकै प्रकृतिको सहकारीमात्रै शेयर सदस्य बस्न पाउने नियममा कडाईं गर्न लागिएको हो । करिब एक महिनाअघि मात्रै उपमहानगरपालिकाको उद्योग, सहकारी तथा पर्यटन सहकारी शाखा प्रमुख भएर आएका हिमप्रसाद पौडेलले सहकारीभित्रको बेथिती न्यूनिकरण गर्न निष्क्रिय सहकारी खारेजीदेखि एक व्यक्ति, एक सहकारी नियम कार्यान्वयनमा तदारुकता देखाएका छन् । उपमहानगरको सहकारी शाखाले हेटौंडाभित्र सञ्चालित सहकारीहरुलाई सदस्यता सम्बन्धि विवरण पठाउन भटाभट पत्र काटिरहेको छ । कार्यालयबाट जारी भएको फारममा सहकारीको समितिका पदाधिकारी सदस्यलाई १५ दिनभित्र विवरण बुझाउन निर्देशन दिइएको छ ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था छ । तर, उक्त कानुनी व्यवस्थाको कार्यान्वयन भने भएको छैन् । हेटौंडाका सहकारी हाँकिरहेका नेताहरु नै एकभन्दा बढी सहकारीमा शेयर सदस्य बनेका छन् । यसबारे उपमहानगरले नजिकबाट नियालिरहेको र सहकारीबाट प्राप्त विवरण हेरेपछि कानुन अनुसार कदम चाल्ने उपमहानगरका सहकारी शाखा प्रमुख पौडेलले बताए ।

सहकारी ऐन २०७४  प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था भएको पौडेलको भनाई छ । ऐन अनुसार २०७७ असोज मसान्तभित्र आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरुको सदस्यता अन्त्य गर्न अनुरोध भएपनि कार्यान्वयन भने हुन नसकेको पौडेलले जानकारी दिए । ‘ऐन कार्यान्वयनमा आएको थिएन् । अब म सहकारी शाखामा आएदेखि नै यसबारे अध्ययन गरेर कार्यान्वयनको चरणमा लैजादै छु । ऐन, नियम सबैले मान्नु पर्छ ।,’ उनले भने ।

सहकारी ऐन, २०७४ अनुसार एक व्यक्ति, एक सहकारी नियम कार्यान्वयन चरणमा जाने र कानुन अनुसार अघि बढ्ने सहकारी शाखा प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले सहकारीका शेयर सदस्यहरुलाई कार्यालयले उपलब्ध गराएको फारम भरी ३ महिनाभित्र सहकारी शाखामा विवरण पेश गर्न अनुरोध गरेको छ । एकभन्दा बढी सहकारीमा शेयर सदस्य भएकाहरुलाई कानुन अनुसार कारबाही गरिने पौडेलले बताएका छन् । उपमहानगरपालिकालाई एक भन्दा बढी सहकारीमा शेयर सदस्य भएकाहरुलाई हटाउन सक्ने अधिकारी भएको पौडेलको भनाइ छ ।

‘सहकारी ऐन अनुसार उपमहानगरपालिकालाई एकभन्दा बढी सहकारीमा बसेकालाई हटाउन सक्ने अधिकार छ । हाम्रो अनुरोधलाई अटेर गरी अघि बढेको खण्डमा सोही अनुसारको कारबाही गर्छौ ।,’ उनले भने । कार्यालयले गरेको अनुसन्धानबाट अधिकांश शेयर सदस्य एकभन्दा बढी सहकारीमा बसेर सेवा लिइरहेको खुलेको छ । ‘सहकारीका पदाधिकारीहरु नै ऐन कुल्चिएर हिँडिरहेका छन् । उहाँहरुलाई १५ दिनको समय सीमा दिएका छौं । एकभन्दा बढी सहकारीमा भएको शेयर फिर्ता गरेर आएमा ठिकै छ । नत्र ऐन अनुसार कारबाही गर्न तयार छौं ।,’ पौडेल भन्छन् । हेटौंडाभित्र २ सय २१ वटा सहकारी अस्तित्वमा रहेको सहकारी शाखाले जानकारी दिएको छ ।

कुल सहकारी संख्यामध्ये सबैभन्दा धेरै ६० प्रतिशत सहकारी बचत तथा ऋण छन् । ३० प्रतिशत सहकारी कृषि क्षेत्रका छन् भने १० प्रतिशतमात्रै बहुउद्देश्यीय सहकारी छन् । तत्कालीन डिभिजन सहकारी कार्यालयले उपमहानगरपालिकालाई २ सय २७ वटा सहकारीको विवरण उपलब्ध गराएको थियो । जसमध्ये ६ वटा सहकारी र बाँकी ११ वटा सहकारी अस्तित्वमै नभएको जनाइएको छ । १७ वटा सहकारी खोजिरहेको पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*