हेटौंडामा कांग्रेस बागमतीको पहिलो बैठक

साझाकुरा
२०७८ पुष २०, मंगलवार १०:५९

हेटौंडा-सोमबार हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक  बसेको छ ।  सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा सोमबार निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाणपत्र वितरणलगतै बैठक बसेको हो । बैठकले संघीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने पहिलो निर्णय गरेको छ ।  बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने योजना तत्काल अघि बढाउने निर्णय गरेको छ । समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक संजाल बनाई विभिन्न स्थानीयदेखि  केन्द्रीय समितिसम्म प्रभावकारी समन्वयको वातावरण बनाउने जनाइएको छ ।
१४ औँ अधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको महामन्त्री राजु श्रेष्ठले जानकारी दिए । साथै बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न तह तप्काबाट भूमिका निर्वाह गर्ने सबैमा धन्यवाद दिने प्रस्ताव पारित गरेको छ ।

निर्वाचन अधिकृत, केन्द्रीय तथा मकवानपुर समिति,  सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, स्वयंमसेवकलगायत अधिवेशनमा सक्रिय रहने सबैमा प्रदेश समितिले धन्यवाद दिएको हो । समितिले कांग्रेसका नवनिर्वाचित केन्द्रीय सभापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुमा बधाई शुभकामना दिने प्रस्ताव पनि  पारित गरेको महामन्त्री श्रेष्ठले बताए । बैठकमा प्रदेश समिति उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र बादे सहमहामन्त्री जीवन डंगोल, ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।  बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*