सकियो हेटौंडाको वातावरणीय अध्ययन

साझाकुरा
२०७८ पुष २०, मंगलवार ११:३८

हेटौंडा÷खानी तथा भूगर्भ विभागले हेटौंडा उपमहानगर– पालिकासहित २२ सहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेको छ । विभागले हालसम्म हेटौंडासहित काठमाडौँ, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी,  भैरहवा, टीकापुर, सिन्धुलीमाडी, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा र नारायणघाटको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको हो । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भू–बनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष सहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा बर्दियाको गुलरिया बजार क्षेत्रमा भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन भइरहेको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । विभागले विसं २०५२ देखि प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको उनको भनाइ थियो । विभागले शहरको कुन भागमा विद्यालय, कुन भागमा अस्पताल, कुन भागमा डम्पिङसाइड, कुन भागमा अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ भन्नेबारेमा अध्ययन गर्नेछ । यस्तै कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्नेसमेत अध्ययन हुने गरेको छ । उक्त अध्ययनले शहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागले लिएको छ ।  ‘शहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ’, महानिर्देशक घिमिरेले भने । विभागको राय र सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*