दूधको मूल्य दश रुपैयाँ बढाउने तयारी

साझाकुरा
२०७८ पुष २२, बिहीबार १०:२६

हेटौंडा-विगत तीन वर्षदेखि दूधको मुल्य नबढ्दा  निराश भएका दुग्ध उत्पादक किसानका लागि बागमतीको प्रदेश दुग्ध विकास बोर्डले राहत प्रदान गर्ने तयारी गरेको छ । गाईंभैंसीलाई खुवाउने चोकर, ढुटो, पिना र परालमा मुल्य वृद्धि भइरहँदा पनि दूधमा मुल्य समायोजन हुन नसकेपछि बोर्डले किसानलाई राहत दिन खोजेको  हो । किसानलाई राहत दिन भन्दै बोर्डले प्रति लिटर दूधमा १० रुपैयाँ मुल्य वृद्धि गर्ने तयारी गरेको  छ । किसानहरु पलायन हुने अवस्था आएको भन्दै दूधको मुल्य बढाउन अत्यावश्यक रहेको बोर्डले जनाएको छ । बोर्डले बुधवार हेटौंडामा दूधको मुल्य समायोजनका विषयमा सरोकारवालासहितको बैठक राखेको थियो । बैठकले दूधमा प्रति लिटर १० रुपैयाँ मुल्य बढाउन संघीय सरकारको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई  अनुरोध गरेको छ । बैठकले १५ दिन भित्र दूधको मुल्य बढाउन मन्त्रालयलाई अनुरोध गरेको बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटाले जानकारी दिएका छन् । ‘हामीले मुल्य बढाउन आग्रहसहितको निर्णय मन्त्रालय पठाइसकेका छौं ।,’ उनले भने ।

बागमतीका दुग्द्य उत्पादक किसानहरुले हाल गाईंको दूधमा ४० देखि ४५ रुपैयाँ मात्रै मुल्य पाइरहेको सापकोटाले जनाएका छन् । भैंसीको दूधमा ५५ देखि ६० रुपैयाँ पाउँदै आएकोमा अब प्रति लिटर १० रुपैयाँ बढाउने तयारी गरिएको बोर्डका उपाध्यक्ष सापकोटाले जानकारी दिए । संघीय सरकारले १५ दिनभित्र मुल्य समायोजन नगरे बोर्डले बागमती प्रदेशभित्र लागू हुने गरी दूधमा प्रति लिटर १० रुपैयाँ मुल्य वृद्धि गर्ने उनले बताए । ‘बागमतीका किसानहरुले तीन वर्षदेखि एउटै मुल्यमा दूध बिक्री गरिरहेका छन् । यतिका वर्षसम्म चोकर, ढुलो, पिना र परालमा भएको मुल्य वृद्धिले किसानहरु चिन्तित छन् । उनीहरुलाई राहत दिनुपर्छ भनेर मुल्य बढाउने तयारी गरेका हौं ।’ सापकोटाले थपे, ‘  यतिका वर्षमा संघीय सरकारबाट दूधको मुल्य बढ्न सकेको थिएन् । अब प्रदेशले बागमतीका किसानको हितमा मुल्य परिमार्जन गर्न लागेको हो ।,’ उपाध्यक्ष सापकोटाले भने । ‘बोर्डको कानुनले दूधको मुल्य बढाएर लागू गर्न सक्छ । हामी पुनः बैठक बसेर १० रुपैयाँ मुल्य बढाउँछौं ।,’ उनी भन्छन् ।

संघीय सरकारले दूधको मुल्य बढाउँदा बागमतीमा मात्र नभई अन्य ६ वटै प्रदेशका किसानलाई राहत पुग्ने भएकाले बोर्डले मुल्य वृद्धि गर्न अनुरोध गरेको सापकोटाले जानकारी दिए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदानपनि वितरण गर्दै आइरहेको छ । तर, अनुदान सबै किसानसम्म पुग्न नसकेको बोर्डका सदस्य सचिवसमेत रहेका कृषि तथा पशुपन्छी निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानले बताए । अनुदानपनि पाउन नसकेका किसानका लागि राहत पुग्ने गरी दूधको मुल्य वृद्धि गर्नुपर्ने अवस्था आएको प्रधानको भनाई छ ।

प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार बागमतीमा दुग्ध उत्पादक किसान करिब २० हजारको  हाराहारीमा छन् । जसमध्ये धेरै चितवन, काभ्रे, मकवानपुर, सिन्धुली, धादिङ र नुवाकोटमा छन् ।  चितवनमा मात्रै ४५ प्रतिशत दुग्ध उत्पादक किसान रहेको जनाइएको छ । चितवनमा दैनिक करिब ३ लाख लिटर दूध उत्पादन हुने बताइएको छ । २०७६ सालदेखि चितवनका किसानहरु दूधको मुल्य बढाउन माग गर्दै आन्दोलनरत् थिए ।  चितवन लगायतका प्रदेशका किसानहरुको आन्दोलनलाई संघीय सरकारले भन्दा प्रदेश सरकारले चाँडो सम्बोधन गर्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*