कांग्रेस मकवानपुरको अधिवेशन फेरि सारियो

साझाकुरा
२०७८ पुष २२, बिहीबार १०:३३

हेटौंडा-नेपाली कांग्रेस मकवानपुरको अधिवेशन फेरि  सारिएको छ । यसअघि पुस १२ गते केन्द्रीय समितिको निर्णय अनुसार पुस २७ गतेका लागि तोकिएको मिति बुधबार माघ १५ गतेका लागि
सारिएको हो ।  कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन भइसकेपनि मकवानपुरसहित १६ जिल्लाको अधिवेशन हुन बाँकी छ । मकवानपुर जिल्ला समितिले एक महिनाअघि केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्नेगरी मिति सारेको थियो । महाधिवेशनपछि बाँकी  रहेका मकवानपुरसहित १६ जिल्लामा एकै दिन अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले नयाँ मिति माघ १५ गते हुनेगरी मिति तय गरेको हो ।

मकवानपुरको हकमा मंसिर १६–१८ सम्म हेटौंडामै बागमती प्रदेशको अधिवेशन हुने भएपछि एकैपटक जिल्ला अधिवेशन र प्रदेश अधिवेशन आयोजनामा समस्या हुने भन्दै जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय  गरेर जिल्ला अधिवेशन स्थगित  गरिएको थियो । ‘माघ १२ गते मुलुकका सातवटै प्रदेशमा सम्पन्न हुन  गइरहेको राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस केन्द्रीय समितिको पुस १२ गतेको निर्णयअनुसार जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन पुस २७ गते गर्ने भनिएकोमा उक्त जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचन माघ १५ गते शनिबारका दिन हुने व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी  गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको १४औं महाधिवेशन सम्पन्नअन्तर्गत  सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन बाँकी छ । यसअघि क्रियाशील सदस्यताको विवादका कारण ती जिल्लाको अधिवेशन समयमै हुन सकेको  थिएन । बाँकी ६१ जिल्लामा अधिवेशन पूरा भएर सात प्रदेश र केन्द्रीय महाधिवेशनसमेत सम्पन्न भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*