युनिलिभरले ब्रेकर हान्दा ५० लाखको पार्टी प्यालेस ‘छियाछिया’

हेटौंडा-हेटौंडाको बहुराष्ट्रिय कम्पनी युनिलिभरको लापरबाहीको कारण पार्टी प्यालेस छियाछिया बनेको छ । हेटौंडा–३, बसामाडीमा रहेको युनिलिभरले स्थानीयको जनधनको ख्याल नै नगरी ब्रेकर हान्दा भर्खरै उद्घाटन गरिएको पार्टी प्यालेसमा लाखौंको क्षति पुगेको हो । युनिलिभरको पूर्वतर्फ स्थानीय नरहरिनन्दन बर्तौलाले ५० लाखको लागतमा काकाको पार्टी प्यालेस निर्माण गरी १७ पुसमा मात्रै उद्घाटन गरेका थिए । तर, युनिलिभरले तौल पुल भत्काउन एक्साभेटर ब्रेकर लगाउँदा पार्टी प्यालेस चर्किएर छियाछिया बनेको हो । बर्तौलाले ब्रेकर हान्दा भौतिक संरचनामा क्षति पुग्ने भन्दै कामदार लगाएर भत्काउन आग्रह गर्दापनि युनिलिभरले जर्वजस्ती गरेको आरोप लगाएका छन् ।
हेटौंडामा शुत्रबार पत्रकार सम्मेलन गर्दै बर्तौलाले पार्टी प्यालेस उद्घाटन गरेको दुई दिनपछि १९ जेठमा युनिलिभरले ब्रेकर लगाउँदा चर्किएको थियो । ‘मैले १७ गतेमात्रै पार्टी प्यालेस उद्घाटन गरेको थिएँ । मैले पूरा निर्माण पनि गरिसकेको थिइन् । एउटा कार्यक्रम गर्न पाइयो । तर, १९ जेठमा युनिलिभरले ब्रेकर लगाएपछि भत्कियो ।,’ बर्तौलाले भावहिल मुद्रामा भने । कम्पनीले तौलपुल विस्तार गर्ने क्रममा स्थानीयको भौतिक संरचनामा पुग्न सक्ने असर बारे कुनै ध्यान नपु¥याएकोले पार्टी प्यालेससँगै एक घरमा क्षति पुगेको भन्दै वडा कार्यालयमा उजुरी परेको छ ।
युनिलिभरले जानकारी नै नदिई आफ्नो कम्पाउण्ड भित्रको तौल पुल भत्काउन पहाड फोर्ने मेसिन प्रयोग गरेको कारण पार्टी प्यालेस र एक घरमा क्षति पुगेको बर्तौलाले जानकारी दिए । पार्टी प्यालेसको भवनका भित्ताहरु फुट्दा भवन प्रयोगमा ल्याउन नमिल्ने भएको उनको भनाई छ । पार्टी प्यालेसमा पुगेको क्षति बारे कम्पनीका प्रतिनिधिलाई जानकारी गराउँदा उल्टै आफुमाथि नै हातपात गरेको बर्तौलाले गुनासो पोखेका छन् । युनिलिभरका सवारी चालकले आफूमाथि आक्रमण गरेको उनको आरोप छ ।
बर्तौलाले दुई वर्ष समय लगाएर ५० लाख लागतमा बनाएको पार्टी प्यालेस युनिलिभरका कारण दुई दिनमै छियाछिया बनेको बताएका हुन् । बर्तौलाले उद्योगसँग पूर्ण क्षतिपूर्तिको माग गरेका छन् । पीडितहरुको निवेदनमाथि वडा कार्यालयले उद्योग, पीडित र प्रतिनिधिबीच छलफलबाट कुनै निकास ननिस्किएको भन्दै आवश्यक प्रकृया अगाडि बढाइदिने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मकवापुरलाई पत्र पठाएको छ । प्रशासनले पनि कुनै चासो नदेखाएको पीडित बर्तौलाले बताए । बर्तौलाले २६ वर्षअघि युनिलिभरले आफ्नो ४ धुर जग्गापनि मिचेको आरोप लगाएका छन् ।
कम्पनीलाई आफ्नो ४ धुर जग्गा मिचिएको बारे ध्यानाकर्षण गराउँदा पनि कम्पनीले उक्त जग्गा हालसम्म खाली नगरेको उनको आरोप छ । बसामाडीका स्थानीय निरध्वज खड्काले युनिलिभरले तौलपूल मापदण्ड विपरित बनाएको बताएका छन् । स्थानीयको घर र तौल पुलको दुरी कायम नै नगरी तौल पुल राखेको भन्दै युनिलिभरले विगतदेखि नै स्थानीयलाई पीडित बनाएर राखेको आरोप लगाएका छन् । उनले पूर्व–पश्चिम राजमार्गसँगै रहेको युनिलिभरले पार्किङ व्यवस्थापन नगर्दा दुर्घटनाको जोखिम भएको बताएका छन् ।
युनिलिभरले ज्यादती नरोक्ने र क्षति भएका संरचनाको क्षतिपूर्ति नदिने अवस्था आएमा कडा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वडा कार्यालयबाट आएको पत्रबारे जानकारी नभएको बताए । युनिलिभर र स्थानीयबीच भएको समस्याको विषयमा आफू जानकार नभएको पाण्डे बताए । युनिलिभर हेटौंडाका एचआर अफिसर गोविन्द शाहीले यस विषयमा आफुहरुले बोल्न नमिल्ने बताएका छन् । शाहीले यस विषयमा नबोल्न माथिल्लो निकायबाट आदेश भएको बताएका छन् ।