भित्र सहमति खोज्दै, बाहिर चुनाव गराउन नाराबाजी्

एमाले मकवानपुर अधिवेशन
साझाकुरा
२०७८ पुष २५, आईतवार ११:३२

हेटौंडा-नेकपा एमाले मकवानपुरको अध्यक्षसहित पदाधिकारीमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । एमाले मकवानपुरको अध्यक्षमा बद्री लम्साल र एकालाल श्रेष्ठको दावी कायमै छ । दिउसोभर नेताहरु ढोका थुनेर सहमति गराउन कस्सिएपनि दुवैले अध्यक्षको दावी छोडेनन् । त्यस्तै, उपाध्यक्ष, सचिव र उपसचिवमा पनि दुई–दुई जनाको दाबेदारी छ । अध्यक्षसहित पदाधिकारीमा सहमति टुंगिन नसके– पछि शनिवार दिउसो निर्वाचन प्रक्रिया स्थगित भएको हो ।  बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भनिएपनि पदाधिकारीमा सहमति हुन नसकेपछि ४ बजेसम्म निर्वाचन प्रक्रिया लम्ब्याइएको थियो । पदाधिकारीमा सहमति वा निर्वाचन हुने बारे अनविज्ञता प्रकट भएपछि दिउसो प्रतिनिधिहरुले हेटौंडा–४ स्थित क्वीकट्वान्टी होटलमा नारावाजी नै गरेका थिए ।

नेताहरु भित्र सहमति खोज्न कसरत गरिरहेका थिए भने बाहिर जनप्रतिनिधिहरु चुनाव माग गर्दै नारावाजी गरिरहेका थिए । प्रतिनिधिहरु छिटो सहमति वा निर्वाचन प्रक्रिया अगाडि बढाउन नेताहरुलाई दबाब दिइरहेका थिए । तर, दिउसो शनिवारसम्म कुनैसहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया आज आइतबार बिहान ८ बजेसम्मलाई सारिएको छ । नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको भन्दै निर्वाचन समितिका रामेश्वर  रानाले निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको बताएका छन् । एमाले जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बेलुकादेखि नै निर्वाचन प्रक्रिया सुरु भएको थियो । शुक्रबार राती उम्मेदवारी दर्ता गरेर दावी विरोध, उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी शनिबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक  गरिएको थियो ।

तर, शनिवार बिहान सहमतिको नाममा निर्वाचन प्रक्रिया लम्ब्याइएको नेताहरुको भनाइ छ । अध्यक्षका उम्मेदवार लम्साल र श्रेष्ठले अघोषित रुपमा प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका थिए । सहमति नहुने छाँटकाँट देखिएपछि लम्साल र श्रेष्ठले प्यानल नै बनाएर निर्वाचनमा जाने सक्ने तयारी गरेको नेताहरुले जानकारी दिएका छन् । लम्सालको प्यानलबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवमा हिदम लामा र सिता विष्ट छन् । श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवमा मदन दहाल र पार्वती राना छन् । उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको थियो । प्यानल बन्ने भएपछि लम्साल समूहका विष्णु प्रसाद ढकाल र श्रेष्ठ समूहका फुर्वा दोर्जे लामा पछाडि हटेका थिए । महिलातर्फको उपसचिवमा उम्मेदवारी दिएका रमिला सापकोटा, जुना दहाल र सुमित्रा काफ्लेले पार्वती रानालाई सघाएका थिए । एमाले मकवानपुरको जिल्ला कमिटी १०५ सदस्यीय बन्नेछ । जसमा १५ जना पदाधिकारी सहित २०० जनाले शुक्रबार राती उम्मेदवारी दिएका थिए ।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ । निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ । एमालेले २२ जनसंगठनको सुदृढीकरणका लागि दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसंगठनलाई नीतिगतरुपमा परिचालित गर्ने गरी आवश्यक योजना पनि बनाउन थालेको छ । जनसंगठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य संगठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आँकलन गरी सम्बन्धित संगठनमा प्रवेशको योजना अघि बढाउने र सबै जनसंगठनले आआफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ । एमालेको जनसंगठन संयन्त्रले ती सगठनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र संगठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ ।

९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी बन्दैछ । धिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ । कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा पर्ने भएका छन् ।  ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य गरेर १० जना पर्ने भएका हुन् । यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रका ६÷६ जना पर्ने भएका छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ । यसैगरी जिल्ला सदस्यमा जिल्लाको मनहरी, कैलाश, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिका बाट ५÷५ जना पर्ने भएको छ । जसमा खुल्लाबाट ४÷४ जना र महिला अनिवार्यबाट एकएक पर्ने भएका छन् । यसैगरी जिल्लाको मकवानपुरगढी र इन्द्रसरोबर गाउँपालिका भित्रका क्रमशः ४ जना र ३ जना पर्ने भएका जसमा एक एक जना महिला अनिर्वाय रहेको नेकपा सचिव एकालाल श्रेष्ठले बताए ।

जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र एक जना महिला गरेर ५ जना, पेशागतबाट १ जना खुल्ला र एक जना महिला गरेर २ जना, दलित २ जना खुल्ला र एक जना महिला गरेर ३ जना, जनजाती, मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना, अन्य खुल्ला १६ जना र महिला खुल्ला १४ जना गरेर १ सय ५ जनाको जिल्ला कमिटी बन्न लागेको एमाले मकवानपुरले जनाएको छ ।  १ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको नेकपा एमाले मकवानपुरका सचिब श्रेष्ठले जानकारी दिए । एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ ।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ । भूगोलतर्फ यी पालिकाबाट सर्वसम्मत एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ५ वटा पालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । थाहा नगरपालिका,  राक्सिराङ, बागमती, मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला र महिला गरी तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भूगोलबाट सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । मकवानपुरगढी गाउँपालिका बाट ३ खुला सदस्यमा बिदुर हुमागाईं, मेम्बर लो र हरिप्रसाद कँडेल सर्वसम्मत हुँदा १ महिला सदस्यमा रमिला घलान निर्विरोध भइन् । राक्सिराङबाट ४ खुला र १ महिला सदस्यमा बाबुराम स्याङ्तान, मान बहादुर वाइबा, सञ्जय कोइराला, सिंगलाल चेपाङ र सुन्तली माया प्रजा चयन भए ।

बागमतीबाट ४ खुला र १ महिला सदस्यमा कमल राई, जय बहादुर वाइबा, मंगल रखाल, मदन कुमार दुरुङच्याङ र धनमाया स्याङ्तान, भीमफेदीबाट ४ खुला र १ महिला सदस्यमा जहार सिंह लामा, द्रोण भद्र पुडासैनी, प्रकाश पुडासैनी, सुरेन्द्र बहादुर थिके र पञ्चमाया स्याङतान, इन्द्रसरोवरबाट २ खुला र १ महिलातर्फ ऋषिराम पुडासैनी, बुद्धिराम डिम्डुङ र रेशम कुमारी घिसिङ सर्वसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ । भूगोलतर्फ हेटौंडा उपमहानगरपालिकाबाट ४ महिला सदस्यमा ५ जनाले उम्मेदवारी दिएपनि सुमित्रा चौलागाई पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि दुर्गा नेपाल, विना वाइबा थिङ, रेखा खतिवडा र सरस्वती दाहाल चयन भएका थिए । ६ खुला सदस्यका लागि भने २० जनाले उम्मेदवारी दिएका थिए । थाहा नगरपालिकाबाट २ महिला सदस्यमा कल्पना बलामी र सुनिता दोङ सर्वसम्मत भए ।

थाहाबाट ४ खुला सदस्यका लागि भने ८ जनाले उम्मेलवारी दर्ता गराएका थिए । जसमध्ये ४ जनाले उम्मेदवारी फिर्ता लिएपछि खुल्ला सदस्यमा हरि गोपाली, युवराज गोले, शिवराम थापा र सुरेन्द्रमान प्रधान निर्विरोध भएका छन् । यसैगरी कैलाश र मनहरी गाउँपालिकाबाट पनि १÷१ महिला सदस्यमा सर्वसम्मत भए । महिला सदस्यमा कैलाशबाट सुकुमाया थिङ र मनहरीबाट बिमला कार्की निर्विरोध भएका थिए ।  ४÷४ जनाको खुला सदस्यमा कैलाशबाट ६ जना र मनहरीबाट ८ जनाको उम्मेदवारी परेको थियो । मजदुरतर्फको ४ खुला सदस्यमा अर्जुन ढुंगेल, धर्म बस्नेत, बिक्रम लामा र लालकृष्ण प्याकुरेल तथा महिला सदस्यमा गीता कार्की सर्वसम्मत भए । जनजाती, अल्पसंख्यक, मुस्लिम तथा अपाङ्तातर्फ २ महिला सदस्यमा जानकी चौधरी र प्रतिमा श्रेष्ठ चुनिए भने ४ खुला सदस्यमा १२ जनाले उम्मेदवारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*