लम्सालको उम्मेदवारी कायमै रहँदा श्रेष्ठ अध्यक्ष घोषणा

एमाले मकवानपुरमा विवाद
साझाकुरा
२०७८ पुष २५, आईतवार १६:११

हेटौंडा-नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्वको चयनलाई लिएर विवाद सुरु भएको छ । कानुन विपरित जिल्ला कमिटी घोषणा गरेको भन्दै विवाद भएको हो । एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशनबाट सर्व– सम्मतमा पदाधिकारीसहित सदस्य चयन गरिएको निर्वाचन मण्डलले आइतबार बिहान हेटौंडा–४, स्थित पार्टी कार्यालयमा घोषणा गरेका थियो ।  एमाले मकवानपुरले अध्यक्षमा एकालाल श्रेष्ठ चयन भए । उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिव (खुल्ला)मा हिदम लामा र उपसचिव (महिला)मा सिता विष्ट सर्वसम्मतले चयन भएको निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले घोषणा गरे ।

तर, अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार बद्री लम्सालले भने सहमति नै नगरी उम्मेदवारी कायमै रहेको अवस्थामा सर्वसम्मत बाट नयाँ कमिटी टुंग्एिकोप्रति आपत्ति प्रकट गरेका छन् । लम्सालले घरमै बसेर अध्यक्षमा श्रेष्ठ चुनिएको खबर पाएको प्रतिक्रिया दिएका छन् ।  ‘आइतबार बिहान सम्म अझै सहमतिको प्रयास हुन्छ भन्ने थियो । म घरमै थिएँ, उता अध्यक्ष नै टुंग्एिछ ।,’ लम्सालले सुनाए । उम्मेदवारी नै फिर्ता नलिई कसरी सर्वसम्मती भयो भन्दै लम्सालले प्रश्न गरेका छन् । ‘मेरो अध्यक्षमा उम्मेदवारी थियो । मलाई कसैले उम्मेदवारी फिर्ता लिन  अनुरोधपनि गरेको छैन् । मैले उम्मेदवारी कायमै राखेको छु तर, सर्वसम्मत चाँही कसरी भयो ?,’ उनले भने ।

सर्वसम्मतीको नाममा आफूमाथि अन्याय भएको लम्सालको भनाई छ । उनले सर्वसम्मती नै नभएको ठाउँमा सर्वसम्मत भयो भनेर नाम पढ्ेर घोषणा गर्नु उचित नभएको बताए ।
निर्वाचन सम्बन्धि कानुनी प्रक्रिया नै पूरा नगरी सर्वसम्मती भनिएकोले आफू कानुनी उपचारमा जाने लम्सालको भनाई छ । उनले कानुनी उपचारमा जान छलफल गरिरहेको बताए । अध्यक्षमा श्रेष्ठ र लम्सालले दावी नछोडेपछि सहमति हुन नसक्दा शनिवार दिउसो ४ बजे निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

निर्वाचन मण्डलका अध्यक्ष एमालेका मकवानपुर इञ्चार्ज रामेश्वर रानाले निर्वाचनको सबै प्रक्रिया पूरा गरेर प्रक्रियागत ढंगबाट नेतृत्व चयन भएको जानकारी दिए । उनले उम्मेदवारहरुबीच आपसी समझदारीमा पदाधिकारी र सदस्य टुंग्याएको जनाएका छन् । निर्वाचन अधिकृत अर्जुन अर्यालले भने निर्वाचन प्रक्रियामा निर्वाचन मण्डल सर्वोच्च हुने भन्दै निर्वाचन मण्डलको अध्यक्षको निर्देशनअनुसार काम  गरेको जानकारी दिएका छन् । उनले अध्यक्ष मण्डलले निर्वाचन स्थगित गर्न निर्देशन दिएपछि सोही अनुसार निर्वाचन प्रक्रिया स्थगित गरेको जानकारी दिए ।

निर्वाचन समितिले आइतबार बिहान ८ बजेदेखि मतदान हुने जानकारी नेता र कार्यकर्तालाई गराएको थियो । अध्यक्षका उम्मेदवार लम्साल र श्रेष्ठले अघोषित रुपमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । सहमति नहुने छाँटकाँट देखिएपछि लम्साल र श्रेष्ठले प्यानल नै बनाएर निर्वाचनमा जाने सक्ने तयारी गरेका थिए ।  लम्सालको प्यानलबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवमा हिदम लामा र सिता विष्टले उम्मेदवारी दिएका थिए । श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवमा मदन दहाल र पार्वती राना थिए । उपसचिव (महिला)मा उम्मेदवारी दिएकी पार्वती रानाले पनि पार्टी नेतृत्वप्रति असन्तुष्टी पोखेकी छन् । उनले सर्वसम्मतीको नाममा टिके प्रथा भएको भन्दै नेतृत्वप्रति गुनासो गरिन् ।  जिल्लामा निर्वाचन नचाहेका नेताहरुले सर्वसम्मती  गराउने ‘सेटिङ’मा शनिवार दिउँसो नै निर्वाचन प्रक्रिया स्थगित गरेको आरोप लगाइएको छ । निर्वाचक समितिले भने आइतबार बिहानै मतदानको तयारी सक्काएको थियो ।
५ पदाधिकारीसहित जिल्ला सदस्यहरुमा सहमती हुन नसकेको क्लस्टरहरुमा चुनाव गर्ने तयारी भएको थियो । चुनावको लागि मतपत्र छपाइ भइसकेको थियो भने मतपत्र तयारी  अवस्थामा राखिएको समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*