मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा कोभिड व्यवस्थापन समिति
हेटौंडा-बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले पाण्डेको अध्यक्षतामा प्रदेश स्तरीय १९ सदस्यीय कोभिड व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले समितिको सदस्य सचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४ सय ७९ प्राविधिक कर्मचारीको सेवा अवधि ६ महिना थप गरेको छ । ‘अघिल्लो वर्ष कोभिड महामारी तीव्र बनेका बेला ४ सय ७९ जना प्राविधिक कर्मचारी राखिएको छ । हामीले उनीहरूको म्याद थप गर्ने निर्णय गरेका छौं,’ शर्माले उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र रहेको र ६ महिनाका लागि करार अवधि थप गर्ने निर्णय भएको बताए ।
यस्तै मन्त्रिपरिषद् बैठकले सत्तारुढ गठबन्धनबीच समझदारी पत्रलाई मन्त्रिपरिषद्रुकै अंग बनाएर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । गठबन्धनबीचको समझदारी पत्रमा सातवटा प्राथमिकता तोकिएको पनि उनले बताए । प्रदेशअन्तर्गत भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको उनले बताए । सो कार्यालय स्थापन गर्न आवश्यक जग्गा प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए । ‘प्रदेश सरकारको सबैभन्दा ठूलो आम्दानीको स्रोत यातायात हो । हामी सेवाग्राहीलाई छिट्टै सेवा विस्तार गर्न यातायात सेवा कार्यालय सबै जिल्लामा क्रमशः स्थापना गर्नेछौं ।’, उनले भने ।