कोरोना रोकथामको तयारी बुझ्न अस्पतालमा मन्त्री लामा

साझाकुरा
२०७८ पुष २९, बिहीबार १२:५८

हेटौंडा-कोरोना संक्रमण बढेपछि बागमती प्रदेश  सरकारका स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालहरुले गरेका पूर्वतयारीको निरीक्षणमा निस्किएका छन् । मन्त्री लामाले कोरोना संक्रमण रोकथामका लागि हेटौंडा अस्पतालले गरेको पूर्व तयारीको जानकारी लिन बुधवार स्थलगत निरीक्षणमा पुगेका हुन् । स्वास्थ्य मन्त्री लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गरे । उनले हेटौंडा अस्पतालको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवा प्रवाहबारे निरीक्षण गरेका थिए । निरीक्षणपछि मन्त्री लामाले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै पूर्व तयारीको काम अघि बढाउन निर्देशन दिएका छन् ।

प्रदेश सरकार कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिवद्ध रहेको भन्दै उनले अस्पताल टिम पनि सोही अनुसार प्रतिबद्ध हुन निर्देशन दिए । निरीक्षणका क्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रामचन्द्र सापकोटासहितको टोलीले अस्पतालले गरिरहेका कामहरुबारे जानकारी  गराएको थियो । उनले स्वास्थ्य– कर्मीहरुले कोभिडको अघिल्लो  चरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिए ।

स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठले निर्देशनालयले खोप अभियान र स्वास्थ्य सेवाको क्षेत्रमा गरिरहेका कामहरुको बारेमा मन्त्री लामालाई जानकारी दिएका थिए । स्वास्थ्य निर्देशनालयको
निरीक्षण गर्दै मन्त्री लामाले अझै पनि बागमती प्रदेशका कतिपय जिल्लामा लक्ष्य अनुसार खोप अभियान संचालन हुन नसकेको भन्दै यसका लागि प्रभावकारी ढंगले अभियान संचालन गर्न निर्देशन दिएका छन् । खोप अभियानका लागि जिल्लाका सबै स्वास्थ्य इकाईहरुले जनचेतना मुलक गतिविधि गरेर नागरिकलाई खोप अभियानमा आकर्षित गर्नुपर्नेमा मन्त्री लामाको जोड थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*